डोल्पाका स्वास्थ्य संस्थामा औषधि अभाव

  ०७७ चैत ३१ गते

जिल्लाका स्वास्थ्य संस्थामा औषधि नहुँदा सेवाग्राही मर्कामा परेका छन । सार्वजनिक स्वास्थ्य संस्थामा चैतको दोस्रो हप्तादेखि औषधि अभावले सर्वसाधारण मेडिकलमा गएर महङगोमा औषधि किन्नु पर्दा मर्कामा परेका हुन ।
वायुप्रदुर्षण र तुवालोले डोल्पामा नियमित हवाई यातायात नहुँदा स्वास्थ्य संस्थामा तीस प्रकारका औषधि अभाव भएको हो । हाल हप्तामा कहिलेकाही मात्र हवाई उडान गरेको छ ।

उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्द गाउँपालिकामा रहेको धो स्वास्थ्य चौकी, कलाङ स्वास्थ्य चौकी, शे फोक्सुण्डो गाउँपालिकाको साइजलस्थित स्वास्थ्य चौकी मध्ये डोल्पाको त्रिपुरासुन्दरी नपा–१ त्रिपुरा स्वाथ्य चौकी, पहाडा स्वास्थ्य चौकी र ठुलीभेरी नपा–८ मा पर्ने जुफाल स्वास्थ्य चौकी र माझफाल स्वास्थ्य चौकीमा औषधि अभाव भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सिजन रावलले बताउनु भयो ।

जिल्लाका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा भएको औषधिको मौज्दात सकिएको र ढुवानीको लागि नेपालगञ्ज विमानस्थलमा औषधि खरिद गरेर राखिएपनि प्रतिकुल मौसमले उडान नहुँदा अभाव भएको स्वास्थ्य प्रमुख रावलको भनाई छ । त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य संयोजक रमेश बुढाले औषधि खरिद गरिएको तर तुँवालो हटेर उडान हुने वित्तिकै औषधि आइपुग्ने र अभाव पनि हट्ने बताउनु भयो । स्वास्थ्य चौकीमा सामान्य रोगको समेत औषधि नहुँदा विरामीहरू खाली हात स्वास्थ्य संस्थाबाट फर्कनु परेको छ ।

त्रिपुरासुन्दरी नगरपालिका अन्तरर्गत पर्ने फुल्चिङ्ग स्वास्थ्य चौकी, पहाडा स्वास्थ्य चौकी, लिकु स्वास्थ्य चौकी, सुउँ स्वास्थ्य चौकी र नगरकेन्द्र नजिकै रहेको त्रिपुराकोट स्वास्थ्य चौकीमा चैतको दोस्रो हप्ताबाटै सरकारले निशुल्क उपलब्ध गराउँदै आएको पारासिटामोल समेत नभएको त्रिपुरासुन्दरी नगरपालिकाका स्वास्थ्य संयोजक अहेव बुढाको भनाई छ ।

वायुप्रदुर्षण र अर्कोतर्फ लामो समयदेखि वर्षात नभएकाले खडेरीका कारण रुघाखोकी, छाती दुख्ने, चक्कर लाग्ने ज्वरो आउने लगायतका विरामीको चाप बढेको धो स्वास्थ्य चौकीका अहेव नवराज महताराले बताउनु भयो । उहाँले भन्नु भयो नेपालगञ्जबाट मध्य र तल्लो डोल्पाका स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा तुँवालो हट्ने वित्तिकै औषधि पुग्ला तर उपल्लो डोल्पामा त सदरमुकामबाटै औषधि पुग्न एक हप्ता लाग्छ । उपल्लो डोल्पामा निजि मेडिकल समेत नहुँदा सर्बसाधारण स्थानीय लामा आम्चीसँग रहेको औषधि सेवन गर्न बाध्य भएको अहेव महताराको भनाई छ । त्रिपुराकोट स्वास्थ्य चौकीका इन्चार्ज तुलबहादुर श्रेष्ठका अनुसार सरकारले निशुल्क रुपमा उपलब्ध हुँदै आएको टेट्रा साइक्लिन, जेभी पाउडर, एम सि पाउडर, स्प्रीट, टिन्चर, भिटामिन वि कम्लेक्स, ल्वाङको तेल, आइक्रोफिन, क्यालामाइन लोसन, म्याग्नेसोयम सल्फेट, अक्सिटोसीन, वेन्जाइल वेन्जोइन, पारासिटामोल, जिन्क र ओरामाइन भ्यालेट लगायतका तीस प्रकारका औषधिको अभाव छ ।

यसैगरी उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्द, छार्काताङसोङ र शे फोक्सुण्डो गाउँपालिकामा पर्ने फोक्सुण्डो स्वास्थ्य चौकी, धो स्वास्थ्य चौकी र छार्का स्वास्थ्य चौकीमा पनि औषधि अभावका साथै जाडोछल्न काठमाण्डौ लगायतका शहरमा झरेका चिकित्सकहरू समेत नफर्केकाले थप समस्या भएको डोल्पोबुद्द गाउँपालिकाका ग्याल्पो भोटेले बताउनु भयो ।

ठुलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका मेयर गणेशबहादुर शाही र ओमबहादुर बुढाले औषधि अभाव भएको खवर सत्य भएको तर खरिद प्रकृया अगाडि बढाई खरिद समेत भइसकेकाले एक दुई दिन भित्रमा औषधि आइपुग्ने बताउनु भयो ।


विष्णुप्रसाद देवकोटा