डोल्पाका ग्रामीण वस्तीमा खाद्यान्न अभाव

  ०७८ भदौ ३० गते

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका शाखा र डिपोहरूमा खाद्यान्नको मौज्दात न्यून भएपछि ग्रामीण वस्तीहरूमा खाद्यान्न अभाव भएको छ ।

वर्षायामको कारण बजारमा बिक्री गरिने खाद्यान्नको मुल्य महङ्गो भएको र सहुलियतमा ढुवानी अनुदानमा बिक्री हुने खाद्यान्न नभएपछि ग्रामीण वस्तीका सर्वसाधारण मर्कामा परेका हुन् ।

उपल्लो डोल्पामा गत आर्थिक वर्षको चामल समेत कोभिड महामारीको कारणले ढुवानी हुन नसक्दा आफूहरूले बजारबाट प्रतिक्वीन्टल ५ हजार रूपियाँमा पाइने चामल १६ हजार रूपियाँ सम्म तिरेर खानु परेको छार्काताङसोङ गाउँपालिका ४ का कार्म गुरूङ्गले बताउनु भयो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी डोल्पाका अनुसार गत आर्थिक वर्षमा जिल्लाको लागि आएको १८ हजार क्वीन्टल चामल बिक्री भइसकेको र नयाँ आर्थिक वर्षको चामल जिल्लामा आपूर्ति नभएकोले खाद्यान्न अभाव भएको हो ।

हाल दुनै शाखामा रहेको २ सय ५० क्वीन्टल र जुफाल गोदाममा २ सय ९ क्वीन्टल चामल ग्रामीण वस्तीका आर्थिक विपन्न परिवारहरूमा मृत्यु, बाढी, पहिरो लगायतका आपतकालिन अवस्थामा वितरणको लागि राखिएको लिमिटेड डोल्पा शाखाका प्रमुख कमलराज पाण्डेले जानकारी दिनु भयो ।

मध्य डोल्पाका काइके गाउँपालिकाको तारामा कामको लागि खाद्यान्न कार्यक्रम अन्तर्गत ३ सय ५० क्वीन्टल, त्रिपुरासुन्दरी नगरपालिकाको त्रिपुराकोटमा १ हजार १ सय ५० क्वीन्टल, लिकुको लागि २ सय २१ क्वीन्टल र ल्हाँ फुल्चिङको लागि २ सय २१ क्वीन्टल चामल सम्बन्धित स्थानिय तहमा पुर्‍याइएकोले केहि हदसम्म खाद्यान्नको अभाव हट्ने प्रमुख पाण्डेको भनाइ छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढिलो गरेर टेण्डर खोल्ने र टेण्डर खोल्ने समय वर्षातको मौसम भएकाले पनि ढुवानीमा ढिलाई हुँदा खाद्यान्न अभाव हुने गरेको जिल्ला खाद्य व्यवस्था समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताउनु भयो ।


विष्णुप्रसाद देवकोटा