‘डे केयर सेन्टर’ अलपत्र हुँदा बौद्धिक अपाङगता भएकाहरूलाई समस्यामा

  ०७८ पुस २९ गते

रेसुंगा नगरपालिका–९ को ‘डे केयर सेन्टर’ अलपत्र हुँदा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरू समस्यामा परेका छन् ।

दाताहरूको सहयोगबाट सञ्चालित डे केयर आर्थिक अभावमा अलपत्र अवस्थामा पुगेको हो ।

दाताको सहयोगबाट डे केयर सेन्टर सञ्चालनको योजना अगाडि बढेको एक दशक भयो । बौद्धिक अपाङ्गता अभिभावक सङ्घ गुल्मीले ‘डे केयर सेन्टर’ सञ्चालनको योजना अगाडि बढाएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन ०७४ को परिच्छेद ३ (त) को उपदफा २, ३ र ४ मा अपाङ्गता भएका व्यक्तिहरूको लगत अद्यावधिक गर्ने, परिचय पत्र वितरण गर्ने, सामाजिक सुरक्षा, सुविधा र अशक्तहरूको स्याहार केन्द्र संचालन र व्यावस्थापन स्थानीय तहले गर्नुपर्ने उल्लेख छ । जुन कार्यका लागि सङ्घ र प्रदेशसँग स्थानीय तहले समन्वय गरेर काम गर्न सक्छ ।

रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले नगरपालिकाबाट मात्रै बजेट व्यावस्थापनमा समस्या भएकाले केन्द्र र प्रदेशसँग समन्वय भइरहेको बताउनु भयो ।

स्थानीय तहले सबै क्षेत्रको बजेट व्यावस्थापन गर्नुपर्ने भएकाले सेन्टरको लागि सोचे जस्तै बजेट विनियोजन गर्न सम्भावना नभएकाले प्रदेश र सङ्घसँग बजेट माग गरिएको भुसालले बताउनु भयो ।

सरकारले गर्नुपर्ने काममा बौद्धिक अपाङ्गता अभिभावक सङ्घले नेतृत्व लिएको बताउँदै उहाँले डे केयर मर्न नदिन पहल गर्ने बताउनु भयो ।

०७१ सालदेखि ०७६ सालसम्म संरचना निर्माणको काम भएको छ । तर, आर्थिक अभावका कारण दुई बर्षदेखि अरु व्यावस्थापनको काम नभएको बौद्धिक अपाङ्गता अभिभावक सङ्घ गुल्मीका अध्यक्ष इश्वरी पौडेलले जानकारी दिनुभयो ।

अहिले उपल्लो तम्घास माविमा बौद्धिक अपाङगता भएका १० जना बालबालिका अध्ययनरत छन् । उनीहरू कक्षा उत्तीर्ण पनि हुँदैनन् । अभिभावले १८ वर्ष पुगेपछि विद्यालय पठाउन पाउँदैनन् ।

सामान्य व्यावस्थापनले विद्यालयमा पनि हेरचाह गर्न मुस्किल परेको छ । विद्यालयमा पठनपाठनभन्दा सामान्य आनीबानीमा परिवर्तन गर्न सकेपनि ठुलो उपलब्धि हुने सङ्घका सचिव मेघलाल पाण्डेले बताउनु भयो ।

सबैलाई एकै प्रकारको हेरविचारले पुग्दैन । त्यस्ता व्यक्तिलाई दिउँसोमा ‘डे केयर सेन्टर’मा हेरविचार गर्ने सङ्घको उद्धेश्य रहेको छ ।

जसका कारण परिवारलाई केहिबेर भएपनि सहजीकरण हुन्छ । आर्थिक अभावको कारण सेन्टर सञ्चालनको सपना अधुरो नै भएकाले सङ्घले भर्खरैबाट अक्षयकोष निर्माण गरेर सहयोग सङ्कलन गरिरहेको सचिव पाण्डेले जानकारी दिनु भयो ।


टोपलाल अर्याल