डेङ्गु र स्क्रवटाइफसका बिरामी बढ्दै, परीक्षणका लागि निःशुल्क किट अभाव

  ०७९ भदौ २० गते

लुम्बिनी प्रदेशका जिल्लाहरूमा पछिल्लो समय डेङ्गु र स्क्रवटाइफस रोगका बिरामी बढदै गएका छन् । निःशुल्क परीक्षणका लागि अस्पतालमा किट अभाव रहेको छ भने निजी प्रयोगशालामा महङ्गो रकम तिरेर परीक्षण गराउन बिरामी बाध्य भएका छन् ।

एडिस (एजिप्टाई) जातिको पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो मध्येमा डेङ्गु पर्दछ । उक्त लामखुट्टे दिउँसोको समयमा मात्र सक्रिय हुन्छ । बिरामीमा उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने रिङ्गाटा लाग्ने लगायतका लक्षणहरू देखिएका छन् ।

बाँके प्रतिनिधि लक्ष्मी थारूका अनुसार जिल्लामा १२ जनामा डेङ्गु देखिएको छ । नेपालगञ्जका पाँच जना, कोहलपुरका दुई जना र बैजनाथ गाउँपालिकाका एक जना रहेका छन् । जसमध्ये चार जना बर्दिया जिल्लाका रहेका छन् । सरकारी अस्पतालमा परीक्षण गरिएका बाहेक निजी प्रयोगशाला परीक्षण गरी रोग देखिएकाहरूको तथ्याङ स्वास्थ्य कार्यालयले अद्यावधिक गरिएको पाइदैन । नेपालगञ्जमा डेंगुका बिरामी देखा परेपछि लार्भा मार्ने अभियान सुरू गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका–४ गणेशपुरमा कतै नगएका व्यक्तिलाई डेंगु देखिएपछि बसपार्क क्षेत्रबाट लार्भा मार्ने अभियान थालिएको नगर स्वास्थ्य प्रमुख रामबहादुर चन्दले बताउनु भयो । चनदका अनुसार एडिस जातको लामखुट्टे बस्ने टीनका डब्बा, प्लाष्टिकका बोत्तल, टायर, सिसी, ड्रममा जमेको पानी फाल्ने र  लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान थालिएको छ ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्लामा डेङ्गु रोगका बिरामी बढ्दै गएपनि सरकारी स्तरबाट यसको परीक्षण हुन सकेको छैन । सरकारी अस्पतालमा परीक्षण किट नहुँदा बिरामीहरूले महङ्गो मुल्य तिरेर नीजि अस्पतालहरूमा डेङ्गु परीक्षण गराउँदै आएका छन् । सेवाग्राहीले परीक्षण सेवा निःशुल्करुपमा पाउन सकेका छैनन् । सात महिनाको अवधिमा पाल्पामा ४५ जनामा डेङ्गु सङ्क्रमण भएको पाइएको छ । नीजि अस्पतालहरूमा डेङ्गु  र कोभिड परीक्षण गर्नुपर्दा कम्तीमा ५ हजार रूपियाँ खर्च हुने गरेको गुल्मीकी उमाकला काफ्लेले बताउनु भयो । पाल्पाका दुई सरकारी अस्पताल पाल्पा अस्पताल र रामपुर अस्पतालमा अहिलेसम्म डेङ्गु परीक्षण नै गरेका छैनन् । सरकारी किट नभएकालेसेवा दिन नसकेको जनाएका पाल्पा अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. रन्जिता महतोले बताउनु भयो ।उहाँका अनुसार पाल्पामा भदौ महिना भित्र मात्र १७ जनामा डेङ्गु सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले सरकारले उपलब्ध गराउन नसकेकाले निःशुल्क परीक्षणका लागि एउटा पनि किट नरहेको बताउनु भयो । उच्च ज्वरो आउने, जीउ दुख्ने, बान्ता हुने, पेट दुख्ने लगायतका समस्या देखिएमा डेङ्गु परीक्षण गराउन उहाँले सुझाव दिनुभयो ।

गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार जिल्लामा पछिल्लो समय डेङ्गुको सङ्क्रमण फैलिदै गएको छ । अहिलेसम्म गुल्मी अस्पताल तम्घास, विभिन्न क्लिनीक र स्थानीय तहका  स्वास्थ्य संस्थामा गरेर १ सय २२ जनामा डेङ्गु सङ्क्रमण भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले जानकारी दिनुभयो । सबैभन्दा बढी सत्यवती गाउँपालिका १ सय, रेसुंगा नपामा १०, छत्रकोट गाउँपालिकामा ६, इस्मा गाउँपालिकामा तीन, मुसिकोट, मदाने र गुल्मी दरवार गाउँपालिकामा एक÷एक जनामा सङ्क्रमण पुष्टि भएको आचार्यले बताउनु भयो । स्वास्थ्य कार्यालयल गुल्मीले स्वास्थ्य सचेतनाका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ । बढी सङ्क्रमण भएको सत्यवती गाउँपालिकामा स्वास्थ्य कार्यालय गुल्मीको तर्फबाट डेंगुको नियन्त्रणको बारेमा सरोकारवाला निकाय र व्यक्तिसँग जानकारी गराइएको छ । परीक्षणको लागि अहिलेसम्म किट अभाव नरहेको गुल्मी अस्पतालले जनाएको छ ।

अर्घाखाँची प्रतिनिधि कुलबहादुर नेपालीका अनुसार अर्घाखाँची अस्पतालमा डेङ्गुको शङ्का लागेर आउने बिरामीर्मा   स्क्रबटाइफसको पाइएको छ ।  अर्घाखाँची अस्पतालका प्रमुख डा. जगनाथ तिवारीका अनुसार डेङ्गु र स्क्रबटाइफसको लक्षण उस्तै हुने भएकोले डेङ्गु शङ्का लागेर धेरै मानिस अस्पतालमा आउने गरेका छन् ।  नियन्त्रणका लागि जनचेतना मुलक कार्यक्रम चलाउन पर्ने भएपनि बजेटको अभाव रहेको छ । डेङ्गु र स्क्रबटाइफसको सर्ने तरिका, लक्षण, उपचार र नियन्त्रण सम्बन्धि समाजिक सञ्जाल मार्फत जानकारी मुलक सूचना प्रचार प्रसार गर्ने गरिएको तिवारीले बताउनु भयो । भूमिकास्थान नगरपालिका स्वास्थ्य शाखा प्रमुख देबबहादुर थापाका अनुसार जिल्लामा स्क्रबटाइफसका बिरामी भूमिकास्थान नगरपालिका क्षेत्रमा बढी देखिएको छ । अज्ञानताका कारण ढिलो उपचारमा आउँदा ४८ वर्षीय लेखनाथ श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको उहाले बताउनु भयो ।  जिल्ला अस्पताल अर्घाखाँचीका अहेब निमबहादुर रानाका यस वर्ष १० जनामा स्क्रवटाईफस र  १९ जनामा डेङ्गुको सङ्क्रण देखा परेको छ ।  डेङ्गु र स्क्रवटाइफस पनि महामारीकोरुपमा फैलिन सक्ने भएकाले जनचेतना मूलक कार्यक्र सञ्चालन गर्नु पर्ने भए पनि  बजेट अभाव भएका कारण समस्या भएको रानाले बताउनु भयो । सन्धिखर्क नगरपालिकाका मेयर कृष्ण श्रेष्ठले  डेङ्गु र स्क्रवटाइफसको रोकथाम तथा नियन्त्रणका लागिस्वास्थ्य मन्त्रालयमा जानकारी गराएको बताउनु भयो ।

रोल्पा प्रतिनिधि तिलक घर्ती मगरका अनुसार जिल्लाका सुनछहरी, लुङग्री र सुनिलस्मृति र त्रिवेणी गाउँपालिकाका विद्यालयहरूमा भदौ २३ गतेबाट परीक्षण सञ्चालन हुने मिति राएिको भए पनि विद्यार्थीहरू भाइरल ज्वरोका कारण थला परेका छन् । रोल्पाको सुनछहरी गाउँपालिका–४ घोगा झिन्जामा रहेको श्री सिद्ध आधारभुत विद्यालयका करिब २५ जना विद्यार्थीहरुमा भाइरल ज्वरोको लक्षण देखिएको छ । विद्यार्थीहरूमा भदौ ७ गते देखि उच्च ज्वरो आउने, रिङ्गाटा लाग्ने, बान्ता आउने, टाउको दुख्ने र नाकबाट रगत बग्ने जस्ता समस्या देखिएको छ । जसकारण दैनिक पठनपाठन समेत प्रभावित बनेको विद्यालयका प्रधानाध्यापक लिलबहादुर घर्ती मगरले बताउनु भयो ।  १ सय ४१ जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा भाइरल ज्वरोका कारण विद्यालय आउने विद्यार्थी संख्यामा समेत कमि आएको छ  ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार जिल्लामा ०७९ जेठ महिना यता मात्रै २७ जना डेङ्गु रोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय बर्दियाले ज्वरो आएर परीक्षण गराउन अस्पताल पुगेकामा डेङ्गु परीक्षण गर्दा २७ जनामा रोग देखिएको जनाएको छ । जिल्लाका सबैजसो स्थानीय तहका नागरिकहरूमा बिरामी फेला परेका छन् । ज्वरो आएर उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज र बर्दिया अस्पतालमा पुगेकाहरूमा डेंगु पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताउनु भयो । उहाँले एकै क्षेत्रमा धेरैजनामा डेंगु रोग पुष्टि भएको क्षेत्रमा खोज र नष्ट गर भन्ने अभियान सुरू गरिएको बताउनु भयो । आर्थिक वर्ष २०७८/०७९को वैशाख मसान्तसम्म बर्दियामा ७९ जनामा डेङ्गु पुष्टि भएको थियो । स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार सबैभन्दा बढी गुलरिया नगरपालिकामा डेङ्गु रोगका बिरामी फेला परेका थिए । डेङ्गु रोगको परीक्षणको व्यवस्था बर्दिया अस्पतालमा गरिहेको छ । हालसम्म  डेङ्गु रोगको परीक्षणको लागि प्रयोग हुने किटको अभाव नरहेको अस्पतालका मेसु  डाक्टर सुभाष पाण्डेले बताउनु भयो ।

 


इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज