डेङ्गु रोगका बिरामी बढ्दै, अस्पतालमा ४० प्रतिशत भन्दा बढी डेङ्गुका बिरामी

  ०७९ साउन २३ गते

पछिललो समय रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढ्दै गएका छन् । रुपन्देहीका विभिन्न अस्पतालहरूमा ४० प्रतिशत भन्दा बढी डेङ्गु रोगका बिरामी रहेको र सचेतना कार्यक्रम सञ्चालनका लागि बजेट अभाव भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिरामीहरूमा उच्च ज्वरो आउने, आँखा दुख्ने, शरीरमा रातो डाबर आउने, खान मन नलाग्ने, जोर्नी तथा मांसपेसीहरू दुख्ने, पेट गडबडी हुने लक्षण देखिने गरेको छ ।

बुटवल उपमनपा– १३ की विमला शर्मालाई कडा ज्वरो आउने टाउको दुख्ने रिगंटा लाग्ने, आँखा दुख्ने समस्या भएपछि नजिकैको मेडिकलमा गएर औषधि सेवन गर्नु भयो । सञ्चो नभएर कमजोर महशुश भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भई रगत गरीक्षण गर्दा डेङ्गु पुष्टि भएको बिमलाले बताउनु भयो ।

शर्मा जस्तै कपिलवस्तु जिल्ला बुद्धभूमीका नपाका मदन थापा पनि एक्कासी ज्वरो आउने, टाउको दुख्नेलगायतका लक्षणहरू देखिएपछि  बुटवल अस्पतालमा  भर्ना हुनुभयो । रगत परीक्षण गर्दा डेङ्गु पुष्टि भयो । थापा भन्नुहुन्छ “अहिलेसम्मकै अप्ठयारो रोग रहेछ, शरीर फलामको छडले हाने जस्तै दुख्छ, आँखा हेर्दा नानी नै खस्छ जस्तो हुन्छ ।”

शर्मा र थापा मात्र होइन डेङ्गु संक्रमणका बिरामीका कारण रुपन्देहीका सबैजसो सरकारी तथा नीजि अस्पताल र क्लिनीकहरू भरिभराउ छन् । ती मध्ये गम्भीर प्रकृतिका बिरामीहरूलाई चितवन तथा काठमाण्डौ पठाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोलर केदारनाथ शाहका अनुसार बुटवल उपमहानगरपालिका, सैनामैना, सिद्धार्थनगर देवदह र तिलोत्तमा नगरपालिकामा डेंगुका बिरामीहरू बढेको र बुटवल उपमहानगरमा सबैभन्दा बढी डेङ्गुका संक्रमित रहेको बताउनु भयो ।

सबैतिरको तथ्यांक आइनसकेको र आफूहरू सँग २ सय ३  जना सङ्क्रमितकाे तथ्याङ्क आएको र अन्य प्राइभेट अस्पताल र क्लिनीकहरूमा आएको सङ्क्रमित  संख्याका लागि समन्वय भइरहेको शाहले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

लामखुट्टेको टोकाईबाट सर्ने यो रोगको सचेतनाका लागि  लार्भा खोज्ने र नष्ट गर्ने अभियान बिगतमा गरिएपनि अहिले यो विषयमा स्थानीय तहले प्रभावकारीरुपमा सञ्चालन गर्न नसकेको स्थानीय किरण थापाले भन्नु भयो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी बरिष्ठ बालरोग विशेषज्ञ डा.नेत्रबहादुर रानाले अस्पतालमा आउने बिरामी मध्ये ४० प्रतिशतमा डेङ्गुको सङ्क्रमण देखिएको बताउनु भयो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ठ फिजिसियन तथा कोभिड फोकल पर्सन डा.नन्दुप्रसाद पाठकले अस्पतालमा आउने बिरामीहरुमा डेंगुका लक्षणहरूको आधारमा रगत परीक्षण गर्दा कोभिड पुष्टि भएको बताउनु भयो ।

डा. पाठकले डेङ्गुका लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाह अनुसार उपचार गर्न र डेङ्गु पुष्टि भएका बिरामीले जथाभावी औषधि नखाने, झोलिलो खानेकुरा खाने, झुलको प्रयोग गर्ने, लामो बाहुला भएको कपडा लगाउने, घर वरपरको वातावरणमा पानी जम्न नदिने, लामखुट्टेको लार्भा विकास हुने स्थानहरु खोजेर नष्ट गर्ने, घरायसी प्रयोजन वा पिउनका लागि ड्रम, गाग्री वा अन्य भाडामा राखिएको पानी राम्रोसँग छोपेर राख्न सबैलाई आग्रह गर्नुभयो ।

डेङ्गु रोग नियन्त्रण सम्बन्धी सचेतना मूलक कार्यक्रमको कमी भएको गुनासो आइरहेका बेला बुटवल उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख युवराज पाण्डेले लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने अभियान संचालन गर्नकालागि सबै टोल विकास संस्थाहरूलाई आग्रह गरिएको र यसका लागि सञ्चार माध्यमबाट जिंगल र सूचना प्रवाह गरेको बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले कार्यालयमा बजेट धेरै नभएकाले सचेतनाका कार्यक्रम धेरै गर्न नसकेको तर सबै स्थानीय तहलाई कार्यक्रम र  अभियान सञ्चलन गर्न  आग्रह गरिएको बताउनु भयो । ‘अहिले डेङ्गुको प्रकोप बढी हुने समय हो, यो समयमा सबै सचेत हुनु पर्दछ ।’ प्रमुख ढकालले भन्नु भयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले प्रदेशमा डेंगुको सङ्क्रमण बढेको भन्ने सुनेको भएपनि प्रादेशिकरुपमा यसको तथ्याङ्क राख्ने प्रणाली नभएकोले प्रदेशमा कति डेङ्गुका सङ्क्रमितहरू रहेका छन् त्यसको तथ्यांक भन्न नसकिने बताउनु भयो । चौधरीले जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय गरेर दुई / चार दिन भित्र यसको तथ्याङ्क सङ्कलन गरिने बताउनु भयो ।

नेपालमा सबैभन्दा पहिला चितवन जिल्लामा २००६ मा डेङ्गु रोगको संक्रमण देखिए पनि पछिल्लो समय शहरी क्षेत्रमा बढी सङ्क्रमण देखिएको छ ।


रीमा बिसी