डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती

  ०८१ मङ्सिर २१ गते

सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ ।

मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको भए पनि विशेषज्ञ चिकित्सक नहुँदा उपकरण थन्काएर राखिएको छ ।

डडेल्धुरा अस्पतालमा डायलासिस सेवा नहुँदा डायलासिस गराउन धनगढी जानु पर्ने बाध्यता रहेको मृर्गौला रोगबाट पीडित राजेन्द्र बिक्रम भण्डारीले गुनासो गर्नु भयो ।

उहाँले भन्नुभयो– ‘ अस्पतालमा उपकरण थन्काएर राखिएको छ । धनगढी गएर डायलासिस गराउनु पर्ने अवस्था छ । हरेक महिना यताउता गर्दा धेरै खर्च हुन्छ ।’

सरकारले मृर्गौलाका बिरामीलाई निःशुल्क डायलासिसको व्यवस्था गरेपनि आफूहरु उक्त सेवाबाट वञ्चित हुनु परेको मृर्गौला रोगबाट पीडित अमन सेटीले गुनासो गर्नु भयो । डडेल्धुरा अस्पतालले  विशेषज्ञ चिकित्सक नल्याएर आफूहरुको बाँच्ने अधिकार बञ्चित गरेको उहाँको आरोप छ ।

‘जनशक्ति अभाव छ मात्रै भन्छन् । तर, समाधानका लागि कसैले पहल गदैन् । हामीहरुको समस्या कसले बुझ्ने ?,’ उहाँले प्रश्न गर्नु भयो ।

अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले छिट्टै डायलासिस सेवा सुचारु हुने बताउनु भयो । उहाँका अनुसार अस्पतालको नयाँ भवनमा डायलासिस सेवा सञ्चालन गर्ने तयारी थालिएको छ ।

दुई वर्ष आगाडि नै डायलासिसका लागि आवश्यक उपकरण अस्पतालमा जडान गरिएको भए पनि दक्ष जनशक्तीको अभावमा सेवा सञ्चालन गर्न नसकिएको र विशेषज्ञ चिकित्सक पदपुर्तिका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरी पहल भइरहेको उहाँले बताउनु भयो ।


शेरबहादुर भण्डारी