डाक्टर नहुदाँ बिमा बापतको सेवा नपाएको सेवाग्राहीको  गुनासो

प्राथमिक स्वास्थ्य केन्द्र कोलमा डाक्टर नहुदाँ स्वास्थ्य बिमा गरे बापतको औषधि तथा उपचार पाउन नसकेको सेवाग्राहीहरूले गुनासो गरेका छन् । जिल्लामा  आर्थिक वर्ष ०७४-७५ देखि स्वास्थ्य बिमा सञ्चालन गरिएको थियो ।

डाक्टर सहितको स्वास्थ्य संस्थाले मात्रै स्वास्थ्य बिमा कम्पनीसँग सम्झौता गर्न पाउँछ ।  तर, जिल्लामा तत्कालीन समयमा पुथाउत्तरगंगा गाउँपालिका१२, कोलको प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै डाक्टरसहितको स्वास्थ्य केन्द्र रहेकाले कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रसँग बिमा कम्पनीले नागरिकले बिमा गरे बापत्को उपचार तथा औषधि वितरण गर्ने सम्झौता गरेको थियो । कोलमा डाक्टरको दरबन्दी भएपनि गत मङ्सिर महिनामा समायोजनमा गएपछि  प्राथमिक स्वास्थ्य केन्द्र डाक्टर विहिन भएको छ ।

पुथाउत्तरगंगा गाउँपालिका१३ का हुकुमबहादुर बुढा मगरले ३ हजार ३ सय रूपियाँ तिरेर ०७४ असोजमा स्वास्थ्य बिमा गरेको बताउनु भयो । पाँच जना सदस्यको २ हजार ५ सय रूपियाँ तिर्नुपर्नेमा सात सदस्यीय परिवारको स्वास्थ्य बिमा गराउँदा उहाँको बढी रुपैयाँ खर्च भएको हो ।  अहिलेसम्म बिमा बापत कुनै औषधि तथा उपचार नपाएकोमा बुढाको गुनासो छ  । आफ्नो परिवारका सदस्य बिरामी परेको बखतमा बिमाबाट कुनै पनि लाभ नपाई बाध्य भएर मेडिकलबाट महँगो मूल्यमा उपचार गर्नु परेकोमा बुढाले दुखेसो पोख्नु भयो ।

५० हजार रुपैयाँसम्मको उपचार निःशुल्क हुन्छ भनेर बिमा गरियो हुकुमबहादुरले भन्नुभयोअहिलेसम्म सबै परिवारको उपचार खर्च डेढ लाखभन्दा बढी भयो, बिमाबाट एक रूपियाँको पनि औषधि पाइएन ।  उहाँले बिमा बापतको सेवा नपाएपछि नवीकरण नै गरेनन् । भूमे गाउँपालिका७ की राममाया रोका मगरले यस वर्षको सुरुमै गर्नुपर्ने स्वास्थ्य बिमा नवीकरण गर्नुभएन । स्वास्थ्य बिमा गरेबापत कुनै पनि सेवा लिन नपाएपछि उहाँले गत वैशाखमै गर्नुपर्ने नवीकरण नगरेको बताउनुभयो ।

हुकुमबहादुर र राममाया त उदाहरणमात्रै हुन् । सस्तो शुल्कमा उपचार सेवा पाइने भनेर जिल्लामा स्वास्थ्य बिमा गरेका चार हजार आठ सय ३२ जना बिमितले यसबाट लाभ लिन नसकेपछि अहिले निराश हुनु परेको छ । बिमा बापतको उपचार नपाएपछि बिमा गरेका नवीकरण गरेका छैनन् ।

स्वास्थ्य बिमा कम्पनीका जिल्ला संयोजक भरतबहादुर खड्काका अनुसार, बिमितले औषधि तथा उपचार नपाउनुको कारण फार्मेसी सम्झौता गरिएको प्राथमिक स्वास्थ्य केन्द्र कोलमा नियमित डाक्टर नभएकाले बिरामीले उपचार पाउँनबाट वञ्चित भएको बताउनु भयो । पुथाउत्तरगंगा गाउँपालिकाको तीन लाख रूपियाँ सहयोगमा फार्मेसी सञ्चालनमा ल्याइए पनि त्यसले स्वास्थ्य बिमितकालागि खासै काम गर्न सकेको छैन् ।  जिल्ला अस्पतालमा पनि स्वास्थ्य बिमितको उपचार गर्ने सम्झौता गरिएको छैन् । यसले गर्दा बिमित स्वास्थ्य बिमा उपभोगबाट  वञ्चित भएका छन् ।

 


जयमान बुढा मगर