डाक्टरमाथि हातपात घटनाका आरोपित गिरफ्तार

  ०७८ जेठ ३० गते

गोकुलेश्वर अस्पताल, दार्चुलाका डाक्टर मियाज अन्सारीमाथि जेठ ३० गते हातपात गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय लोकेन्द्रनाथ योगी र सोही ठाउँका ३० वर्षीय नरेन्द्रनाथ योगीलाई गिरफ्तार गरको छ ।

डाक्टरको लापार्वाहीले नवजात शिशुको मृत्यु भएको भन्दै डाक्टरमाथि हातपात गरिएको भन्दै प्रहरीले आरोपितहरुलाई जेठ ३० गते गिरफ्तार गरेको हो ।

शैल्यशिखर नगरपालिका–१ की ३२ वर्षीया बसन्ती नाथ जेठ २९ गते सुत्केरी हुन गोकुलेश्वर अस्पताल भर्ना हुनु भएको थियो । गोकुलेश्वर अस्पतालमा भर्ना भएकी महिलाको अप्रेशनबाट बच्चा जन्मिएको भएपनि केही समयपछि बच्चाको मृत्यु भएको थियो ।

स्थानीयले अस्पतालका डाक्टर लगायत स्वास्थ्यकर्मीमाथि हातपात प्रयास गरेपछि घटनामा सङ्लग्न दुई जनालाई इलाका प्रहरी कार्यालय, गोकुलेश्वरका इन्स्पेक्टर अरुव बमको टोलीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।

अस्पताल र स्वास्थ्यकर्मीको सुरक्षार्थ इलाका प्रहरी कार्यालय गोकुलेश्वर, प्रहरी चौकी शिखर र इलाका प्रहरी कार्यालय, लटिनाथबाट थप सुरक्षाकर्मी परिचालन गरिएको इन्स्पेक्टर चन्दले बताउनु भयो ।

 


नरेन्द्रसिंह कार्की