डढेलो फैलिएपछि कुष्ठरोग अस्पतालका बिरामीलाई सारियो, डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

ललितपुरको गोदावरी नगरपालिका–६ स्थित आनन्द वनमा लागेको डढेलो फैलिएपछि त्यहाँ नजिकै रहेको आनन्दवन अस्पतालका बिरामीलाई अस्पतालको अर्को भवनमा सारिएको छ ।

गोदावरी नगरपालिका–४ बडिखेलस्थित कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा वैशाख १८ गते घाइते भएका दुई जना मध्ये गोदावरी नगरपालिका–४ का ३७ वर्षीय शंकर पहरीको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परीसर  ललितपुरका नरेशराज सुवेदीले बताउनु भयो ।

डढेलो निभाउने क्रममा घाइते भएका श‌ंकर पहरी र ४८ वर्षीय रमेश पहरीलाई स्थानीय स्वास्थचौकीमा उपचार गरी थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो ।

आनन्द वनमा ०८१ वैशाख १८ गते फैलिएको डढेलोका कारण  अस्पतालमा जोखिमको सम्भावना बढे पछि  ९३ जना बिरामीलाई अस्पतालको अर्को भवनमा सारिएको हो ।

कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा फसेका प्रहरी र स्थानीय १५ जनाको सकुशल उद्धार गरिएको घटना स्थलमा रहनु भएका प्रहरी वृत्त सातदोबाटोका डिएसपी चित्रबहादुर भट्टराईले जानकारी दिनुभयो ।

जिल्लाका पहाडी भेगका साथै महालक्ष्मी नगरपालिकाको लामाटार क्षेत्रको पातले सामुदायिक वन क्षेत्रमा समेत डढेलो लागेको महालक्ष्मी नगरपालिका–९ का वडा अध्यक्ष जयकृष्ण बागटीले जानकारी दिनुभयो ।

डढेलो नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, अग्नि नियन्त्रकसहितको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताउनु भयो ।

अहिले ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनाललगायत सुरक्षा अधिकारी अस्पतालमा पुगेका छन् ।


दीपकप्रसाद घिमिरे