डढेलो निभाउँदा घाइते भएको पहरीको निधन

गोदावरी नगरपालिका४ बडिखेलस्थित कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा घाइते भएका ४८ वर्षीय रमेश पहरीको ०८१ वैशाख १९ गते किर्तीपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

Gajendraडढेलो निभाउने क्रममा ०८१ वैशाख १८ गते दिउँसो गोदावरी नगरपालिका४ बडिखेलका ३७ वर्षीय शंकर पहरी र रमेश पहरी घाइते भइ उपचारका लागि बर्न अस्पतालमा लगिएकोमा शंकरको १८ गते नै मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो । घाइतेहरुलाई काठमाडौंको किर्तीपुर अस्पतालमा लगिएको छ । मृतकहरु दुवै जनाको शवको पोष्टमार्टम किष्ट अस्पताल ग्वार्कोमा वैशाख १९ गते नै डाक्टर अंशु प्रधानले गर्नु भएको अस्पतालका सूचना अधिकृत सरीता हाडाले जानकारी दिनुभयो ।

कुमारी सामुदायिक वनमा डढेलो निभाउने क्रममा फसेका प्रहरी र स्थानीय १५ जनाको सकुशल उद्धार गरिएकोमा ३५ वर्षीय गौरब पहरी र ४० वर्षीय साहिला पहरीको टौखेलस्थित मेट्रो नमस्ते अस्पतालमा उपचार भइरहेको गोदावरी नगरपालिका४ बडिखेलका वडा अध्यक्ष सानुभाइ नगरकोटीले जानकारी दिनु भयो ।

आगलागीमा परेर मृत्यु भएका दुवै जनाको परिवारलाई गोदावरी नगरपालिकाको आकस्मिक वैठकले जनही पाँच÷पाँच लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिनुभयो ।

यसैबीच, ललितपुर जिल्लाका विभिन्न भागमा डढेलोका कारण ९ हजार हेक्टर वनमा क्षति भएको डिभिजन वन अधिकृत राम कुमार भण्डारीले जानकारी दिनुभयो । जिल्लाका २ सय वटा सामुदायिक वन मध्ये करिब आधाभन्दा बढी वनमा डढेल्लो लागेको पाइएको भण्डारीले बताउनु भयो ।

lalitpur-dadheloडढेलो र आगलागीका कारण वातावरण प्रदुषण हुँदा नागरिहरूको स्वास्थ्य प्रभावित बनेको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले बताउनु भयो ।

डढेलो निभाउने क्रममा २ जनाको मृत्यु हुनुको साथै १५ जना भन्दा बढी सामान्य घाइते भएकोमा स्थानीय स्वास्थ्य संस्था र अस्पतालहरुमा उपचार भएको छ ।

जिल्लाका अधिकांश सामुदायिक वनमा आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो बस्तीमा पस्दा करोडौँ रूपियाँको क्षति भएको छ । सबै क्षतिको विवरण अद्यावधिक हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

आगो निभाउन आवश्यक स्रोत साधन र जनशक्तिको अभावको कारण सामुदायिक वनको आगो नियन्त्रणमा सजिलै आउन नसकेको सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेमप्रसाद घिमिरेले बताउनु भयो ।

ललितपुरमा ६ वटा स्थानीय तह मध्ये ललितपुर महानगरपालिकामा २ वटा मात्र दमकल रहेकाले पनि आगो निभाउने साधन र स्रोत नहुँदा वनको आगो नियन्त्रण गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

लामो समयदेखि पानी नपर्नु र वन क्षेत्रमा कुहिएका, सडेगलेका पातपतिङ्गरका साथै झिँजा दाउरा रहनुले पनि डढेलो फैलिएको स्थानीय उपभोक्ताले बताए ।

Godawariवन क्षेत्रमा अग्नी रेखा काट्ने बाहेक उपभोक्ताले अरु उपाय अप्नाउन नसकेको स्थानीय उपभोक्ता निर्मला बजगाईले बताउनु भयो । वन जोगाउन वनमा आधारित उद्यम सञ्चालन गर्न र हरेक वर्ष झाडि सुधार गर्नु पर्ने वन अधिकारकर्मी बताउछन् । वन क्षेत्रमा संरक्षण पोखरी बनाएर वर्षा यामको पानी संकलन गरेर राख्नु पर्ने जल सरोकारकर्मी बताउछन् ।

डिभिजन वन कार्यालयबाट वन कार्ययोजना नवीकरण गर्न कानुनी झन्झट भएका कारण झाडि सुधार गर्न सहज नभएको काफ्ले सामुदायिक वनका अध्यक्ष समेत रहेका सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेश सदस्य जगदीश्वर घिमिरेले बताउनु भयो । डढेलो फैलिएको धुवाँको कारण प्रदुषण बढेको वातावरणकर्मी बताउछन् ।

वन क्षेत्रमा सल्लाका रुखहरु भएका कारण पनि आगो निभाउन कठिन भएको स्थानीय लक्ष्मी कोइरालाले बताउनु भयो । अग्नी नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता समितिमा तालिम प्राप्त जनशक्ति आवश्यक देखिएको र तालिम प्राप्त जनशक्तिले पेट्रोलिङ गर्नु पर्ने खाँचो देखिएको सामुदायिक वनकर्मीले बताए ।

प्रदूषणका कारण स्थानीयमा श्वास प्रश्वास, ज्वरो, खोकी लगायतको समस्या देखिएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर अर्जुनप्रसाद सापकोटाले बताउनु भयो । सुख्खा मौसम भएकोले जन चेतना जगाएर आगो लाग्ने वस्तु नियन्त्रण गर्न र आगो लागेमा ज्यान जोखिम आगो निभाउनेभन्दा अग्नी रेखा काट्न ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताउनु भयो ।

 


दीपकप्रसाद घिमिरे