ट्राफिक प्रहरी जवानमाथी छुरा प्रहार घटनाका आरोपित गिरफ्तार

महोत्तरी जिल्ला गौशाला नगरपालिका–३ घर भइ जिल्ला ट्राफिक प्रहरी कार्यालय लालबन्दी नगरपालिका–१ नवलपुरमा कार्यरत ३३ वर्षीय प्रहरी जवान प्रमोद महतोमाथी ०८० माघ १९ गते छुरा प्रहार गरेको आरोपमा रौतहट जिल्ला राजपुर नगरपालिका–१ का ३४ वर्षीय यमामुदीन देवानलाई सोही दिन प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित माघ १९ गते ट्राफिक नियम पालना नगरी ना. १९ प. २५५५ नम्बरको मोटरसाईकलमा पश्चिमबाट पूर्वतर्फ आउँदै गर्दा ट्राफिक चेक जाँचको क्रममा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएपछि आरोपितले जरिवाना रसिद काटेर भुक्तानी गर्न कार्यालय भित्र छिरेका प्रहरी जवान प्रमोद महतोमाथि छुरा प्रहार गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका ट्राफिक प्रहरी इन्स्पेक्टर मदन थापाले जानकारी दिनु भयो ।

छुरा प्रहारबाट महतोको निधार, घाँटी, दाहिने हात र पेटमा चोट लागेको हुनाले उनलाई उपचारको लागि सोही दिन स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारको लागि नेशनल मेडिकल हस्पीटल वीरगन्ज लगिएको इन्सपेक्टर थापाले जानकारी दिनु भयो ।

साथै छुरा प्रहार गरी भाग्न खोज्दा आरोपितलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका एसपी प्रविण धितालले जानकारी दिनु भयो ।


बुधन साह