ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती

  ०८१ माघ ३० गते

पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती भोग्नुपरेको छ ।

दार्चुला, बैतडी, र बझाङ जिल्लाका लागि केन्द्र मानिएको खोड्पेमा सडक दुर्घटना तथा अन्य विपद्का घाइतेहरूको आकस्मिक उपचारका लागि ट्रमा सेन्टर निर्माण गरिएको थियो । संघीय सरकारको ५० लाख र नगरपालिकाको १० लाख रुपियाँ गरी कुल ६० लाख रुपियाँको लागतमा भवन निर्माण सम्पन्न भए पनि आवश्यक चिकित्सा, उपकरण तथा दक्ष जनशक्ति नहुँदा सेवा सञ्चालन हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय, बैतडीका सूचना अधिकारी विपीन जोशीले बताउनु भयो ।

photo20250212baitadi (2)

पाँच वर्षअघि निर्माण सम्पन्न भए पनि ट्रमा सेन्टर कसले सञ्चालन गर्ने भन्ने विषयमा स्पष्ट व्यवस्था नहुँदा समस्या उत्पन्न भएको उहाँको भनाइ छ । ट्रामा सेन्टर सञ्चालनमा नआउँदा यहाँका सेवाग्राहीहरुलाई समस्या भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदन महराले बताउनु भयो ।

स्थानीय तथा पाटन नगरपालिका–८ र सिद्धेश्वर स्वास्थ्यचौकीका प्रतिनिधिहरूले बैतडी जिल्लामा ट्रमा सेन्टर सञ्चालनको माग गर्दै ०८१ असोज महिनामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन–पत्र समेत बुझाएका थिए । तर, सरकारबाट कुनै ठोस् निर्णय नआएकाले ट्रमा सेन्टर सञ्चालनका लागि आवश्यक उपकरण, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गरिनु पर्ने स्थानीयको माग छ ।


नरी बडु