टीकापुर घटनाको तीन वर्षः पीडितको रोकिएन आँशु
शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाइन् । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको विचल्ली भएको छ ।
बुढेसकालको भरोसा मानेको जेठो छोरो जनकबहादुरलाई गुमाएयता सीतादेवीको आँशु रोकिएको छैन । उनको घरमा पुग्दा बृद्धा नेगी घाँस काट्दै थिइन् । “छोरो गुमाएयता बिरामी नै परेँ । हरेक दिन खाना पस्केर खान बस्दा छोरालाई नै सम्झिन्छु ।” सीतादेवीले आँशु झार्दै भनिन् ।
छोरा मारिएको तीन वर्ष बितिसक्दा पनि घटनाका दोषीलाई कारबाही हुन नसकेको भन्दै उनले दुःख मनाउ गरेकी छन् ।
टिकापुर घटनापछि प्रहरी हवल्दार जनकबहादुरकी पत्नी परमादेवी पाँच सन्तानका साथ माइतीघरमा बस्दै आएकी छन् । दाजु मारिएपछि सीतादेवीको कान्छो छोरो उमेश वैदेशिक रोजगारबाट फर्किएर अहिले घरमा बेरोजगार बनेका छन् । “परिवारको भरोसा नै जेठो छोरा जनक थियो ।”-सीतादेवीले भनिन् ।
कान्छो छोराको सहारामा बाँचेको नेगी परिवारको आर्थिक अवस्था कमजोर बन्दै गएको छ । “बुढेसकालमा भरोसा गुमाउँदा परिवारमै विचलन आयो ।”-जनकका बुवा वीरसिंहले भने- “कहीँकतैबाटै सहयोग पाउन सकिएन । दोषीलाई कारबाही भएको देख्न पाए हुन्थ्यो ।” टीकापुर घटनामा संलग्न २२ जनालाई समातेको सुन्नमा आएपनि सजाय के भयो थाहा नपाएको उनी बताउँछन् ।
घटनापछि बुहारी परमादेवी भीमदत्तनगरपालिका–१९ बागफाँटामा माइतीघरमा बस्दै आएकी छन् । “छोरो गुमाएपछि सरकारले उपलब्ध गराएको रकमबाट नाति/नातिनीको खर्च चलाएको छ ।”-वीरसिंहले भने । नेगी परिवार राहत र न्यायको पर्खाइमा छ । आफूसित भएको चार कट्ठा जमीनमा खेती फलाएर परिवारको छाक टार्न मुस्किल भएको उनी बताउँछन् ।
यस्तै टीकापुर घटनामै ज्यान गुमाएका प्रहरी निरीक्षक बलराम विष्टको परिवारको पनि आँशु अझै थामिएको छैन । शुक्लाफाँटा नगरपालिका–११ कलुवार घर भएका विष्टकी पत्नी मन्धरादेवी घटनापछि अहिलेसम्म घर बाहिर निस्केकी छैनन् । पतिवियोगको पीडा झेल्दै आएकी उनले पीडकलाई कारबाही गर्न भएको ढिलाइप्रति दुखेसो पोखिन् ।
“घटना भएको तीन वर्ष भयो । म घर बाहिर निस्कन सकिरहेको छैन ।”-उनले भनिन्-“श्रीमान्ले त्यत्तिक्कै ज्यान गुमाउनुभयो । चित्त बुझाउने ठाउँ छैन ।” घटना हुँदा पीडित परिवारका छोरा/छोरीलाई सरकारले निःशुल्क शिक्षा दिने भने पनि हालसम्म केही सुनुवाइ नभएको मन्धरादेवीको गुनासो छ । उनका छोरा/छोरी बुवाले पाउने सुविधाबाटै अध्ययन खर्च गर्दैछन् ।”
त्यसैगरी टीकापुर घटनामै ज्यान गुमाएका बेलौरी नगरपालिका–६ विद्यानगरका इन्स्पेक्टर केशव बोहराको परिवार पनि हत्यामा संलग्नलाई कारबाही नभएकोप्रति निराश छ । बोहराकी पत्नी र छोरा/छोरी काठमाडौँमा बस्दै आएका छन् । घरमा भेटिएका बोहराका भाइ महेश दोषीलाई कारबाही भएमात्रै पनि मृत आत्माले शान्ति पाउने बताउँछन् ।
“यति ठूलो घटनाका दोषीलाई कारबाही गर्न सरकार गम्भीर भएको देखिएन ।”-उनले भने- “पीडकलाई राजनीतिक कारण देखाएर उन्मुक्ति दिन हुँदैन ।”
“कारबाही हुनुपर्ने मान्छेलाई संरक्षण दिनु हुँदैन ।”-उनले भने । ०७२ भदौ ७ गते भएको टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपाने, इन्स्पेक्टरद्वय बलराम विष्ट र केशव बोहरासहित आठ प्रहरी र एक बालकले ज्यान गुमाएका थिए ।
उक्त घटनाको मुद्दा हाल कैलाली जिल्ला अदालतमा चलिरहेको छ । घटनाका आरोपितमध्ये २३ जना कैलाली कारागार र मुख्य आरोपित रेशमलाल चौधरी केन्द्रीय कारागार काठमाडौँमै पुर्पक्षका लागि थुनामा छन् । आरोपित आश्रित दुई बालबालिका पोखराको बाल सुधारगृहमा छन् । समाचार साभारः शेरबहादुर सिंह/रासस
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…