झुम्का कारागारमा एक कैदीको शङ्कास्पद मृत्यु

झुम्का कारागारमा कैद भुक्तान गरिरहेका ४२ वर्षीय न्यायाधीश राईको शङ्कास्पद मृत्यु भएको छ ।

खोटाङको साकेला गाउँपालिका स्थायी घर भइ इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको ०८० चैत १७ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागार प्रशासनले उपचारका क्रममा राईको मृत्यु भएको जनाएपनि मृतकका आफन्तले कारागारभित्र कुटपिट गरी हत्या गरिएको आरोप लगाएका छन् ।

शरीरभरी निलडाम र चोटपटक देखिएकाले उपचारका क्रममा मृत्यु भएको नभइ कुटपिट गरी हत्या गरिएको र मृत्यु भएपछि मात्र अस्पताल भर्ना गरिएको पीडित पक्षको आरोप छ ।

मृतकका दाजु सुवास राईले कारागारभित्र भाईको कुटपित गरी हत्या गरिएकाले घटनाको निश्पक्ष छानविन गरी दोषीलाई कारबाहीको माग गर्नु भएको छ ।

मृतककी भाउजु उर्मिला राईले देवरको उपचारका क्रममा मृत्यु भएपनि कारागारले दिएको सूचना झुठो भएको आरोप लगाउनु भएको छ । उर्मिला राईले देवरको शरीरभरी निलडाम देखिएको, कान सुन्निएको र शरीरमा चोट देखिएकाले कुटपिट गरी हत्या गरिएको दावी गर्नु भएको छ ।

पीडित परिवारले मृतक न्यायाधीश राईको शरीरमा चोट देखिएकाले कारागारभित्र यातना दिएर हत्या गरिएकाले घटनाको निश्पक्ष छानविनको माग गरेको छ ।

झुम्का कारागारका प्रमुख ध्रुवराज कोइरालाले कैदी भुक्तान गरीरहेका न्यायाधीशको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताउनु भयो । स्वाशप्रस्वासमा समस्या देखिएपछि ०८० चैत १७ गते विहान ३ बजे अस्पताल भर्ना गरिएका राईको उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख कोइरालाको भनाइ छ ।

जिल्ला अस्पताल, प्रमुख श्रेया पंगेनीले न्यायाधीश राईलाई उपचार गर्न जिल्ला अस्पताल ल्याउनु अघि नै मृत्यु भएको बताउनु भएको छ ।

पीडित पक्षले निश्पक्ष छानविन गरी न्याय र क्षतिपूर्ति नदिएसम्म पोष्टमार्टम गर्न नदिने र शव नबुझने अडान लिएको छ । शव इनरुवा अस्पतालमा राखिएको छ ।


जयकृष्ण यादव