ज्येष्ठ नागरिक सम्बन्धी ऐन कागजमै सिमित भएको गुनासो

  ०७६ फागुन २२ गते

रामेछापका ज्येष्ठ नागरिकले ज्येष्ठ नागरिक सम्बन्धी ऐन कागजमा मात्रै सिमित भएको गुनासो गरेका छन् । मन्थली नगरपालिकाले मन्थलीमा आयोजना गरेको ज्येष्ठ नागरिक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले सो गुनासो गरेका हुन् ।photo20200305 Ramechhap

उनीहरूले ज्येष्ठ नागरिकको लागि आएको बजेट अन्य ठाउँमा खर्च गरिने गरेको गुनासो गरे । कार्यक्रममा ज्येष्ठ नागरिक सङ्घ रामेछापका अध्यक्ष नारायण दास श्रेष्ठले जिल्लामा करीव २८ हजार ५ सयभन्दा बढी ज्येष्ठ नागरिक रहेकोमा ५ हजार ८ सय १३ जनाभन्दा बढि मन्थली नगरपालिका भित्रै रहेको बताउनु भयो ।

श्रेष्ठले सार्वजनिक यातयातको आरक्षण सिटमा अरु नै बसि दिने गरेको गुनासो गर्नु भयो । सरकारले यातायातमा दिने ५० प्रतिशत भाडा छुट समेत नपाएको उनीहरूको गुनासो थियो । औषधि उपचारमा दिएको छुट समेत भौगोलिक कारण सबै ठाउँमा प्रर्याप्त औषधि नहुँदा सेवा लिन कठिन भएको उनीहरूले बताए ।

कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले ज्येष्ठ नागरिकका गुनासो सम्बोधन गर्न नगरपालिकाले प्रयत्न गर्ने बताउनु भयो । उहाँले सिमित साधन र श्रोतका कारण सोचे जस्तो काम गर्न नसकेको भए पनि अब क्रमश समस्या सम्बोधन गर्दै जाने बताउनु भयो ।


नवराज पथिक