ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको खाता सञ्चालनमा नआउँदा विकास निर्माणको कार्य प्रभावित हुनुका साथै ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति र बालबालिकाले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

जिल्ला विकास समिति, गाउँ विकास समितिको खाता रोक्का गरिएको र जिल्ला समन्वय समिति तथा गाउँपालिकाको नयाँ खाता सञ्चालनमा नल्याइएकाले उनीहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएका हुन् । एकल महिला भत्ता बुझन चार दिनदेखि नगरपालिका कार्यालयमा आउँदै फर्कने गरेको स्थानीय कुशा मल्लले गुनासो गरिन् ।

पहिलेको संरचना अनुसार जिल्ला विकास समिति र गाउँ विकास समितिको खाता रोक्का भएको र नयाँ संरचना अनुसारको गाउँपालिका र नगरपालिकाको खाता सञ्चालनमा नआएका कारणले विकास निर्माणको काम प्रभावित हुनुका साथै सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या भएको खाँडाचक्र नगरपालिकाका वडा सचिव गणेश रिजालले बताए । 'पुरानो संरचना अनुसारको खाता सञ्चालनमा रहेका थिए ।'-उनले भने-'नयाँ संरचना अनुसार खाता सञ्चालनमा आइनसकेका कारणले समस्या भएको छ ।'

पहिले जिल्ला विकास समिति र गाउँ विकास समितिका खातामा निकासा आएको रकम पनि अहिले खाता रोक्का गरिएका कारणले निकासा गर्न अप्ठयारो भएको र त्यसको मार स्थानीय उपभोक्ता समितिसमेतलाई पर्न गएको सचिव रिजालले बताए । 'स्थानीय निकायबाट स्थानीय तह बनेको छ ।'-उनले भने-'स्थानीय निकायबाट स्थानीय तहमा खातालगायतका आर्थिक कारोबार हुन नसकेका कारणले समस्या भएको छ ।'

जिल्लाका ३० वटै गाविसका पुरानो संरचना अनुसारको सामाजिक सुरक्षा भत्तालगायतका अन्य विकासे योजना खर्च खातामा दिएको भएपनि अहिले स्थानीय तहमा खाता सञ्चालन रोक्का भएका कारणले रकम पाउन नसकेको तत्कालीन जिल्ला विकास समिति कालिकोटका योजना अधिकृत तथा हाल खाँडाचक्र नगरपालिकाका कार्यकारी अधिकृत पवित्रा शाहीले बताइन् । 'निकासा भएको रकम पनि खातामा गएर थन्किएको छ ।'-उनले भनिन्-'अझै पनि त्यो रकम स्थानीय तहको खातामा आउन सकेको छैन ।'


कालीवहादुर मल्ल