ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ ।
सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण अनिवार्य गरेपछि ज्येष्ठ नागरिकहरूलाई भत्ता बुझ्न सास्ती भएको हो ।
सम्बन्धित वडा कार्यालयबाट घरमै ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउदै आएकोमा सरकारले बैङ्किङ् प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरू गरेपछि आफूहरुले सास्ती खेप्नुपरेको ज्येष्ठ, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ ।
वडा कार्यालयमार्फत ज्येष्ठ नागरिकलाई प्रदान गरिँदै आएको भत्ताको रकम टाढाको बैंक पुगेर लिनु पर्दा सास्ती खेप्नुपरेको शुक्लाफाँटा नगरपालिका–६ की ७४ वर्षीया कला थापाले दु:खेसो पोख्नु भयो ।
उहाँले भन्नुभयो– ‘भत्ता लिन धेरै झन्झट बेहोर्नु परेको छ । बैंकसम्म हिँडेर जानु पर्ने भएकोले सास फुल्ने गरेको छ । भत्ता लिन धेरै समय खर्चनु पर्दा बुढेसकालको शरीर थाकेर बिरामी नै हुने अवस्था आएको छ । पहिले घरमै भत्ता लिन पाइएको थियो । बैंकबाट दिन थालेपछि झन्झट र दुःख थपिएको छ ।’
शुक्लाफाँटा–८ का ८० वर्षीय विरु साउदले बैंकमा लाइनमा बसेर भत्ताको रकम बुझ्नु परेको गुनासो गर्नु भयो ।
उहाँले भन्नुभयो– ‘बैंकसम्म पुग्न ३ सय रुपियाँ अटो भाडा तिर्नुपरेको छ । निकै भीड हुँदा लाइनमा बस्नु पर्छ । यसअघि वडा कार्यालयमा लाइनमा नबसिकनै भत्ताको रकम पाइन्थ्यो । अहिले निकै अप्ठेरो भयो ।’
सरकारले बैंकबाट मात्रै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भनेपछि भत्ताको रकम बुझ्नका लागि अटो भाडा छिमेकीसँग सापटी मागेर बैंकसम्म पुग्न बाध्य हुनुपरेको ८५ वर्षीय शेरबहादुर साउदले दु:खेसो पोख्नु भयो ।
उहाँले भन्नुभयो– ‘ज्येष्ठ नागरिकलाई सहज रुपमा सेवा दिनुपर्नेमा उल्टो सास्ती दिने कार्य गरिएको छ । ’घरदैलोमै सेवा दिन्छौँ भन्थे । ज्येष्ठ नागरिकलाई सम्मान गर्छौं भन्थे । अहिले आएर ज्येष्ठ नागरिकको सुविधा भन्दा पनि आफ्नो सुविधाका लागि सरकारले काम गरेको छ । केही वर्ष वडामै भत्ता बुझ्ने व्यवस्था गर्दा ज्येष्ठ नागरिकलाई सहज भएको थियो । अहिले चाडपर्वका बेला ३ सय बढी भाडा तिरेर भत्ता बुझ्न बाध्य हुनुपरेको छ ।’
सामाजिक सुरक्षा भत्ता पाउनका लागि सबै भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरुले सास्ती खेप्नुपरेको अपाङ्गग महासंघका जिल्ला अध्यक्ष उपेन्द्र खडायतले गुनासो गर्नु भयो ।
उहाँले भन्नुयभो– ‘ह्विल चेयरमा समेत बस्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरुलाई घरका सदस्यहरुले बोकेर भत्ता बुझ्नका लागि बैंकसम्म पुर्याउन बाध्य भएका छन् । वडामा पुगेर भत्ताको रकम नदिने भएपछि बोकेर बैंकसम्म लिनेलैजाने गर्नु परेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता घरघरमै आएर दिने व्यवस्था गर्नु पर्छ ।’
ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले बैंकसम्म सकिनसकी धाउनु परेको पूर्व नगर प्रमुख दिलबहादुर ऐरल बताउनु भयो । मानवीय दृष्टिले पनि ज्येष्ठ नागरिकलाई घर दैलोमै सेवा पुर्याउनु पर्नेमा उल्टै सास्ती दिने कार्य न्यायोचित नभएको उहाँको भनाइ छ । शुक्लाफाँटा नगरपालिकाका १२ ओटै वडामा दुई ओटा बैंकमार्फत सामाजिक सुरक्षा अन्तर्गतको भत्ताको रकम वितरणको कार्य हुँदै आएको छ ।
सामाजिक सुरक्षा भत्ताका नाममा बैङ्किङ् प्रणालीले असुरक्षा भएको ज्येष्ठ नागरिकहरूको गुनासो छ । ८० देखि ९० वर्ष नाघेका ज्येष्ठ नागरिक दुई / तीन घण्टाको यात्रा तय गरी भत्ता बुझ्नु पर्ने बाध्यतामा छन् । आगामी दिनको भत्ता वितरण वडा कार्यालयमै गर्दा राम्रो हुने ज्येष्ठ नागरिकहरूको माग रहेको छ ।
विकटबस्तीबाट समेत भत्ता बुझन बजारस्थित बैंकसम्म पुग्नु पर्ने बाध्यता छ । जहाँ बाटो राम्रो छैन् । अटो रिक्सासम्म पुग्दैन् । कतिपय अटो रिक्साले महँगो भाडा लिने गरेका छन् । तोकिएको भाडादर भन्दा बढी भाडा लिनेगरेको समेत ज्येष्ठ नागरिकहरुको गुनासो छ ।
नगरपालिकाले सामाजिक सुरक्षा भत्ता रकम सुरक्षति रुपमा वितरण गर्न बैंकसँग सम्झौता गरी नौ ओटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको भए पनि वडा नम्बर ११ र १२ मा वडा कार्यालयबाट वितरण हुने गरेको बताउँदै अशक्त ज्येष्ठ नागरिकहरुलाई सहज हुनेगरी बैंकसँग समन्वय गर्न सकिने शुक्लाफाँटा नगरपालिकाका सूचना अधिकारी लक्ष्मण लम्सालले बताउनु भयो ।
शुक्लाफाँट नगरपालिकामा अन्य ज्येष्ठ नागरिक २ हजार ६ सय २९, ज्येष्ठ नागरिक (दलित) ३ सय १६, एकल महिला ३ सय ३२, विधवा ९ सय ८४, पूर्ण अपाङ्गता भएका व्यक्ति १ सय २३, अति अशक्त अपाङ्गता भएका व्यक्ति २ सय ६२, दलित बालबालिका ५ सय २९ गरी ५ हजार २ सय ४५ जनाले भत्ताको रकम लिने गरेका छन् ।
लिली कुँवर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…