ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउन घरघरमा स्वास्थ्यकर्मी

  ०७९ साउन २९ गते

७० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनका लागि अहिले घरघरमा स्वास्थ्यकर्मी पुग्न थालेका छन् ।

बेनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रका ज्येष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण एवम् उपचार गर्ने हेतुले घरघरमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको हो ।

घरदैलोमै पुगेर ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचारसम्बन्धी सेवा उपलब्ध गराउन कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको बेनी नगरपालिकाले जनाएको छ ।

बेनी नगरपालिकाभित्रका १० ओटै वडाका घरघरमा पुगेर ज्येष्ठ नागरिकको तथ्याङ्क सङ्कलन, प्रेसर (उच्च रक्तचाप) चेकजाँच, स्वास्थ्य परामर्श र सामान्य औषधी वितरणका लागि कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

अहिले नगरपालिका भित्रका प्रत्येक घरघरमा स्वास्थ्यकर्मी पुगेर पहिलो चरणमा तथ्याङ्क सङ्कलन, दिर्घरोगी पहिचान, उनीहरूको स्वास्थ्य अवस्था पत्ता लगाउने र कुन–कुन औषधि सेवन गर्छन् त्यसको बारेमा समेत जानकारी लिइने बेनी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख लिला गौतमले जानकारी दिनु भयो ।

चालु आर्थिक वर्षदेखि सुरु भएको यो कार्यक्रम नगरपालिकाले अभियानकै रुपमा सञ्चालन गर्ने गौतमको भनाई छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले कार्यक्रम निकै प्रभावकारी हुने अपेक्षा रहेको बताउनुभयो ।

लम्सालले भन्नु भयो–‘ग्रामीण भेकमा जनताले स्वास्थ्य समस्या भए पनि स्वास्थ्य संस्थासम्म नगएर लुकाएरै बस्ने सम्मको अवस्था रहेकाले स्वास्थ्यकर्मी नै घरमा पुगेर चेकजाँच गर्दा नागरिकले प्रभावकारी तवरले सुविधा पाउँछन् ।’

संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक र त्यसको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने उल्लेख छ ।

त्यस्तै उपधारा २ मा आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुने भन्ने उल्लेख भए पनि ग्रामीण भेकमा नागरिक यस्तो सुविधाबाट प्राय वञ्चित जस्तै भएको अवस्थामा नगरपालिकाले गरेको कार्य देशैभरका स्थानीय तहले गर्दा जनस्वास्थ्यका हिसाबले निकै फलदायी हुने लम्सालको भनाई छ ।

बेनी नगर प्रमुख सुरत केसीले ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या पहिचान गरी घरदैलोमै औषधि उपचार तथा परामर्श गर्न कार्यक्रम कार्यान्वयनको चरणमा अगाडि बढाइएको बताउनु भयो ।

बेनी बजारभित्र पर्ने वडा नं ७ र ८ का बासिन्दाले बेनी अस्पतालबाट सेवा लिने गरेका छन् । वडा नं ६ मा स्वास्थ्यकर्मीको जनशक्ति नभएकाले केही दिनमा घरदैलोमा खटाउने नगरपालिकाको योजना छ ।

ठूला वडामा एक हप्ता र साना वडामा तीनदेखि चार दिनभित्र ज्येष्ठ नागरिकको लगत सङ्कलन गरिसक्ने लक्ष्य रहेको नगर प्रमुख केसीले बताउनु भयो ।
ज्येष्ठ नागरिकको घरमा पुगेर स्वास्थ्य अवस्था, समस्या, प्रयोग गरेको औषधिका विषयमा समेत विवरण सङ्कलन गर्ने स्वास्थ्यकर्मीले परामर्श सेवा पनि दिइरहेका छन् ।

स्वास्थ्यकर्मी घरदैलोमा गएको पहिलो दिनमै लुकेका स्वास्थ्य समस्या पहिचान भएको छ । वडानम्बर ५ पुलाचौरमा दुर्घटनामा परेर घाइते भएकी एक बृद्धाको खुट्टामा राखिएको स्टिल नझिकिएका कारण घाउ परेको अवस्थामा भेट्टाइएको छ ।

ती बृद्धालाई पोखरामा थप उपचारको व्यवस्था मिलाइने नगर प्रमुख केसीले बताउनु भयो । ज्येष्ठ नागरिकको घरदैलोमा स्वास्थ्यकर्मी कार्यक्रमका लागि बेनी नगरपालिकाले यसवर्ष १० लाख रुपियाँ बजेट विनियोजन गरेको छ ।

बेनी नगरपालिकाले ज्येष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, हरेक महिनाको १५ गते स्वास्थ्यसंस्थामा ४५ वर्षदेखि माथिका नागरिकहरूको लागि नसर्ने रोगको स्वास्थ्य शिविर सञ्चालन र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने बेनी नगरपालिकाले जनाएको छ । यी तीन कार्य गर्नका लागि नगर प्रमुखले पदभार ग्रहण गर्दाको समयमा निर्णय गर्नुभएको थियो ।

photo20220814myagdi (1)

photo20220814myagdi (4)

photo20220814myagdi (5)

photo20220814myagdi (6)

photo20220814myagdi (7)

photo20220814myagdi (8)

photo20220814myagdi (2)

photo20220814myagdi (3)


अमृतप्रसाद पौडेल