जोखिम मोलेर विद्यालय जानु परेको गुनासो

  ०७७ चैत १६ गते

मुगुम कार्मारोङ गाउँपालिका–७ महका विद्यार्थीहरू ज्यान जोखिम राखेर विद्यालय आवत जावत गर्न बाध्य छन ।

गाउँपालिकाको वडा नम्बर–८ माँग्री गाउँमा रहेको वुद्ध माध्यमिक विद्यालयमा मह गाँउबाट एक सय भन्दा बढी विद्यार्थीहरू मह र माँग्री बिचको फडके भन्ने स्थानमा पर्ने कर्णाली नदिको ढुङ्गामाथि बिच्छाइएको काठको साहारामा वारपार गर्छन । गाउँबाट विद्यालय पुग्नको लागि छोटो स्थानमा पुल नुहँदा उनीहरू यस्तो जोखिम मोलेर विद्यालय पुग्ने गरेका छन ।

‘हिउँदको समयमा बरफ जमेका ढुङ्गामाथि हिड्नु पर्ने भएकाले कति भाई बहिनी तथा साथिहरूको कापी कलम खोलामा खसेका छन् त कति चिप्लएर हात खुट्टा भाच्चिएका छन्’ कक्षा १० मा अध्यनरत पेमा छटुप लामा भन्नुहुन्छ । उहाँका अनुसार मह गाँउमा कक्षा पाँच सम्ममात्र पढाई हुने विद्यालय भएकोले त्यो भन्दा माथिको कक्षामा पढ्न माँग्री जानुपर्ने बाध्यता छ ।

ढुङ्गेधारमा रहेको पुल तरेर विद्यालय जानको लागि करिब दुइ घण्टा लाग्नेभएपछि मङ्सिर देखि वैशाखसम्म नदिको सतह घट्ने भएकोले जोखिम मोलेर वारपार गर्नु परेको उनीहरू बताउँछन् । पुलबाट विद्यालय जाँदा समयमै नपुगिने, ढिलो पुगे शिक्षकको गाली खानुपर्ने र खाना बोकेरै विद्यालय आउनु पर्ने जस्ता समस्या व्यवहोरीरहेको लामाको गुनासो छ ।

20210329 Mugu

‘सानो छोरीलाई दिनहुँ फडकेसम्म पुर्‍याउन आउनु पर्छ । पुर्‍याउने मान्छे नभएको दिन छोरी स्कुल जानै मान्दिनन्’ अविभावक कार्मा लामाले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार वर्षाको समयमा भने बालबालिकाहरू ढुङ्गे धारामा रहेको पुलबाट नै आवत जावत गर्छन् ।

फड्केबाट जाँदा पनि आधा घण्टा उकालो र आधा घण्टा ओरोलो झरेर जानुपर्दा कक्षा कोठामा पुग्दा विद्यार्थीहरू थकित भएर निदाउने तथा पढाइमा मन लगाउन नसकेको वुद्ध माविका प्रधानाध्यापक टिका प्रसाद उपाध्यायले सुनाउनुभयो ।

दुईवटा गाउँ जोड्ने स्थानमा झोलुङ्गे पुल निमार्ण गरिदिन सरोकारवाला निकायलाई पटक पटक अनुरोध गरेता पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।


जीवन सेजुवाल