जेठ १ गते रोकिएको मतगणना अझै सुरू भएन

  ०७९ जेठ ४ गते

अन्नपूर्ण गाउँपालिकामा जेठ १ गते देखि रोकिएको मतगणना अझै सुरू हुन सकेको छैन ।

मतगणनाको क्रममा नेपाली कांग्रेसका प्रतिनिधिले विवाद झिकेपछि रोकिएको गणना कार्य अझै पनि सुरू हुन नसकेको हो ।

जेठ ३ गते बेनीमा सर्वदलीय बैठक बसेको भए पनि कुनै निचोडमा पुग्न नसकेको मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलले बताउनु भयो ।

जिल्ला अदालत म्याग्दीका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत पौडेलका अनुसार सर्वदलीय बैठकमा गणना सुरू गर्ने सैद्धान्तिक सहमती भएको भए पनि कहिलेबाट गणना थाल्ने भन्ने विषय टुङ्गिएको छैन ।

‘भोली सम्ममा गणनाको बातावरण बनाउन तर्फ मेरै अग्रसरतामा कार्यअगाडी बढेको छ–मुख्य निर्वाचन अधिकृत पौडेलले भन्नुभयो ।

यसै सन्दर्भमा नेकपा एमाले अन्नपूर्ण गाउँपालिका कमिटीले स्थगित भएको मतगणनालाई कानुन र विधिसम्मत ढङ्गले तत्काल सञ्चालन गर्नका लागि निर्वाचन आयोग र स्थानीय प्रशासनसमक्ष माग गर्दै प्रेस विज्ञप्ति प्रकाशन गरेको छ ।

विज्ञप्तिमा राजनीतिक संस्कारलाई ख्याल गरेर एमालेका नेता तथा कार्यकर्ताहरू संयमित भएर बसेकोमा विपक्षीले कमजोरी ठानी जथाभावी आरोप लगाई जनतामा भ्रम छरेको आरोप लगाएको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानपछि सम्पूर्ण मतपेटिकाहरू अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा ल्याएर वैशाख ३१ गते बिहानैदेखि मतगणना सुरू गरिएको थियो ।

मतगणनाअनुसार अन्नपूर्ण गाउँपालिका १ दोवा, २ भूरूङ–तातोपानी र ३ दानाको मतगणना सम्पन्न गरी नेकपा एमालेले जितेको प्यानलसहित विजेता समेत घोषणा गरिएको थियो ।

त्यसपछि अन्नपूर्ण ४ नारच्याङको मतगणना गर्नका लागि मुचुल्का बनाएर मतपेटीका खोली मतपत्र मिलाउन थालेपछि एक्कासी मतगणनास्थल बाहिर मतगणनामा धाँधली भएको आरोप लगाउँदै नेपाली कांग्रेसले विरोध गरेपछि २०७९ जेठ १ गते देखि मतगणना रोकीएको थियो ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सर्वदलीय बैठक भइ सकेको र सम्भवता भोलिदेखि मतगणना सुरू गर्ने योजना गराइएको बताउनुभयो ।

रानाले भन्नुभयो–गणना गर्ने गणक समेत फेरेर पुरै नयाँ सेट राखेर गणनाको काम थाल्ने गरी तयारी भएको बताउनुभयो ।

यसै सन्दर्भमा अन्नपुर्ण गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसले दिएको उजुरी अनुसार कार्यालयले निर्वाचन आयोगमा पत्राचार गरेकोमा निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई मतगणना गर्न र जिल्ला प्रशासनलाई सुरक्षा व्यवस्था मिलाउन निर्देशन गरेको छ ।


अमृतप्रसाद पौडेल