जुम्ला घटना छानबिनका लागि उच्चस्तरीय समिति गठन

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डक्टर गोविन्द केसी अनशन बसेर काठमाडौँ लैजाने क्रममा भएको घटनाको छानबिनका लागि प्रतिष्ठानले साउन १० गते उच्चस्तरीय छानबिन समिति गठन गरेको छ  ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा प्राध्यापक डक्टर गीताभक्त जोशीको संयोजकत्वमा सात सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरिएको प्रतिष्ठानका उपकुलपति डक्टर राजेन्द्रराज वाग्लेले बताए ।

छानबिन समितिको सदस्यमा पूर्व स्वास्थ्य सचिव डक्टर सिनेन्द्रराज उप्रेती, प्राध्यापक डक्टर कृष्णकुमार राई, डक्टर बाबुराम मरासिनी, डक्टर देवमान लिम्बू, पत्रकार गोरखबहादुर  थापा र सदस्य सचिवमा राजु कटुवाल रहेको प्रतिष्ठानका उपकुलपति डक्टर वाग्लेले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बसेको कार्यकारी परिषदको बैठकले उच्चस्तरीय छानबिन समिति गठन गरेको हो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डक्टर राजेन्द्रराज वाग्लेको अध्यक्षतामा बसेको बैठकले अस्पतालमा भएको घटनाको सत्यतथ्य छानबिनका लागि छानबिन तथा प्रतिष्ठानको भविष्यका लागि आगामी दिन कसरी सजिलो बनाउने विषयमा समिति गठन भएको हो ।

गत असार १६ गतेबाट चिकित्सा क्षेत्र र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा चाँडै पूर्वाधार तयार गरी डक्टर पढाई गरिनुपर्ने भन्दै अनशन बसेका केसीको अनशनको २० औँ दिन साउन ३ गते प्रतिष्ठानमा प्रहरी, विद्यार्थी र कर्मचारीबीच झडप भएको थियो । त्यसै दिन केसीलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।


मानदत्त रावल