जुम्लामा स्थलमार्गबाट पुग्यो ७६ हजार मतपत्र

  ०७९ वैशाख २१ गते

स्थानीय तहको निर्वाचनका लागि जुम्लामा मतपत्र आईपुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जुम्लामा ७६ हजार मतपत्र आईपुगेको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायले १ सय ५२ प्याकमा ७६ हजार मतपत्र जुम्ला आइपुगेको बताउनु भयो ।

अब केही दिनपछि मतदान केन्द्रमा निर्वाचनका लागि खटिने कर्मचारी र मतपत्र प्याकिङ र जनशक्ति व्यवस्थापन गरिने सहायक निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनु भयो ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मतपत्र भएपनि १० हजार मतपत्र बढि आएको जानकारी दिनुभयो ।

मतपत्र नेपाली सेनाले भारी सुरक्षाका साथ स्कटिङ गरेर स्थलमार्गबाट जुम्ला पु¥याएको छ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्कटिङ गरेर मतपत्र जुम्ला ल्याई मुख्य निर्वाचन कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।

जुम्लाको जम्मा मतदाता सङ्ख्या ६७ हजार ७ सय ४४ रहेको छ । पुरुष ३५ हजार २ सय ७३ जना र महिला ३२ हजार ४ सय ७१ जनाको मतदाता नामावली रहेको जिल्ला निर्वाचन कार्यालय, जुम्लाका प्रमुख महेश शर्माले जानकारी दिनुभयो ।

जिल्लाका एक नगरपालिका र सात गाउँपालिका मध्ये सबैभन्दा बढी मतदाता सङ्ख्या चन्दननाथ नगरपालिकामा ११ हजार ८ सय २० रहेको छ । जसमा पुरुष ५ हजार ८ सय ४७ जना र महिला ५ हजार ९ सय ७३ रहेको प्रमुख शर्माले जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकामा मतदान स्थल १० वटा र मतदान केन्द्र १६ वटा रहेका छन् ।

यस्तै सबैभन्दा कम मतदाता नामावली सङ्ख्या हिमा गाउँपालिकामा ६ हजार २ सय ८७ रहेको छ । जसमा पुरुष ३ हजार २ सय ८२ जना र महिला ३ हजार ५ जना रहेका छन् । मतदान स्थल नौ वटा र मतदान केन्द्र ११ वटा रहेको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
स्थानीय तहको निर्वाचन नजिकिदै जादा पछिल्लो समय निर्वाचन कार्यालयले तालिका अनुसार आ आफ्नो काम गरिरहेका छन् ।

चन्दननाथ नगरपालिकामा सात जना प्रमुखको पद र पाँच जना उपप्रमुखको पदमा अन्तिम उम्मेदवारका रुपमा रहेको मुख्य निर्वाचनको कार्यालयले जानकारी दिएको छ ।
JumlaPhoto2022-05-04


मानदत्त रावल