जुम्लामा विद्युतीय नक्सामार्फत स्थानीय निर्वाचन सुरक्षा

  ०७९ वैशाख २१ गते

आसन्न वैशाख ३० गते हुने दोस्रो स्थानीय तह निर्वाचन सुरक्षाका लागि जुम्लामा विद्युतीय नक्सा तयार गरिएको छ । मतदान केन्द्र र मतदानस्थलको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिले विद्युतीय नक्साको आधारमा हरेक क्रियाकलापको निगरानी राख्ने गरी विद्युतीय नक्सा तयार पारेको हो ।

निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि डिजिटल विद्युतीय नक्सामार्फत जिल्लाभरको अबस्था एकै ठाउँमा बसेर हेर्न सकिने संयन्त्रको विकास गरिएको छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले विद्युतीय नक्साको माध्यमबाट भौगोलिक विकटताका आधारमा कुन मतदान स्थल कति संवेदनशील छ भन्ने विषयको सहजै निगरानी राख्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो सुरक्षा समितिले भौतिक रूपमा पनि निर्वाचन गतिविधिको अनुगमन गर्ने छ । विद्युतीय नक्साको प्रयोगबाट पनि निरन्तर निगरानी राख्ने जनाएको छ ।
स्थलगत अनुगमन गरेपनि जिल्लाका आठै स्थानीय तहका मतदान केन्द्र र मतदान स्थलमा म्यादी प्रहरीले सुरक्षा दिए नदिएको, सुरक्षा चुनौती लगायतका विषयमा निरीक्षण गरिने प्रमुख जिल्ला अधिकारी प्रसाईको भनाइ छ ।

मतदान स्थल तथा मतदान केन्द्रको दूरीका आधारमा सुरक्षा व्यवस्थापन मिलाउने तयारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले जिल्लास्थित राजनीतिक दल र सरोकारवाला सबैलाई बोलाएर निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रमुख डिएसपी नरेन्द्र चन्दले जुम्लामा ७९ मतदान स्थल र १ सय २ मतदान केन्द्र रहेको जानकारी दिनु भयो । जसमध्ये १४ मतदान केन्द्रमा ५ सय भन्दा कम मतदाता छन् । उहाँले भन्नु भयोे, ‘सडक सञ्जाल विस्तार हुन नसकेका कारण केही मतदान केन्द्रमा हिँडेर जानुपर्ने बाध्यता छ । एक दिनसम्म लगाएर मात्र मतदान केन्द्रमा पुग्नु पर्ने अवस्था छ । भौगोलिक रूपमा विकट रहेका मतदान केन्द्रको अनुगमन गर्न र अवस्था अवलोकनका लागि सुरक्षा योजना तयार भइसकेको छ ।’

७९ मतदान स्थलहरूमध्ये ४१ ओटा मतदान स्थललाई अति सम्वेदनशील, १५ ओटा मतदान स्थललाई सम्वेदनशील र २३ ओटा मतदान स्थललाई सामान्य मतदान स्थलका रूपमा वर्गीकरण गरिएको छ ।

जिल्लाका सबै मतदानस्थल तथा मतदान केन्द्रको अनुगमन सुरक्षा समितिले एक महिना अघि देखि नै गर्दै आइराखेको छ । निर्वाचनलाई शान्तिपूर्ण बनाउनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली हरेक स्थानीय तहमा पुगिसकेको नन्दावक्स गण जुम्लाका गणपति रविन थापाले बताउनु भयो ।

हरेक स्थानीय तहमा विद्युतीय नक्सा राखिएको र नक्साका आधारमा जिल्ला भरी कसरी मतदान स्थलमा काम भइरहेको छ हेर्ने काम चलिरहेको छ । गणपति थापाका अनुसार डोल्पा, मुगु, हुम्ला र कालिकोटमा सुरक्षा परिचालन गरिएको छ । ड्रोनको प्रयोग गरेर सबै मतदान स्थलको विवरण अपडेट गर्ने गरिएको छ । सेनाको बम डिस्पोजल समूह पनि सबै स्थानीय तहमा खटिइसकेको छ । जुम्लाबाट छनौट भएका ६ सय ६९ जना म्यादी प्रहरीसमेत परिचालन भइसकेको सुरक्षा समितिले जनाएको छ ।


मानदत्त रावल