जुम्लामा नयाँ शैक्षिक सत्र सुरु भएपनि पठनपाठन भएन

जुम्लामा माघ २५ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूमा अझै कक्षा सञ्चालन भएको छैन । नयाँ शैक्षिक सत्र शुरु भए लगत्तै विद्यार्थी भर्ना अभियानको बाहानामा शिक्षक तथा विद्यार्थीहरू विद्यालयमा नियमित उपस्थित नहुँदा जुम्लाका सरकारी विद्यालयहरूमा अझै कक्षा सञ्चालन हुन नसकेको हो ।

ग्रामीण भेगमा रहेका विद्यालयरू पुरै बन्द अवस्थामा रहेका छन् भने सदरमुकाम आसपास र सदरमुकाम भित्रका चन्दननाथ उच्च मावि, रत्नचुण्डेश्वर उच्च मावि, जनता उच्च मावि, कर्णाली उच्चमावि, लाम्रा, तातोपानि, झारज्वाला, कुडारी, डिल्लीचौरलगायतका विद्यालयहरूमा अझै नियमित पठनपाठन शुरु नभएको विद्यार्थीहरूले बताएका छन् ।

यस्तै जुम्ला सिंजा क्षेत्रका कुनैपनि विद्यालयमा हालसम्म पढाइ शुरु भएको छैन । विद्यालयमा नयाँ शैक्षिक शत्र शुरु भइसक्दासमेत कतिपय शिक्षक र विद्यार्थीहरू ट्युसन कक्षाका लागि समरदुकाममै रहेका छन् ।

जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले जिल्लामा नयाँ शैक्षिक सत्र शुरु भैसकेकाले सबै शिक्षकहरूलाई नियमित विद्यालय उपस्थित हुन निर्देशन दिएको बताए । उनले विद्यालयका प्रधानाध्यापक, शिक्षक विद्यार्थी, अभिभावक र विद्यालय ब्यवस्थापन समितिका पदाधिकारीलाई भर्ना अभियानसँगै तत्काल पढाइ शुरु गर्न आह्वान गरेका छन् ।

सबै विद्यालय निरीक्षण गरिने बताउँदै निरिक्षण प्रश्चात कुनै विद्यालय बन्द भएको पाइएमा नियमानुसार कारबाही गरिने जिल्ला शिक्षा अधिकारी फडेराले प्रतिवद्धता जनाए ।


मानदत्त रावल