जुम्लामा कुसंस्कार कायमै, नवजात शिशुसहित सुत्केरी महिला गोठमा !

  ०७९ असार १९ गते

हिमा गाउँपालिका– ५ की २६ वर्षीया मनसुबा शाही सुत्केरी भएपछि गाईगोरु बाँध्ने गोठमा नवजात शिशुसहित बस्दै आउनु भएको छ । शाही सुत्केरी भएपछि नौ दिनसम्म गाई राख्ने गोठमा बस्न बाध्य हुनु भएको हो । यो जुम्लाको सामाजिक कुसंस्कार हो । यो संस्कार सदियौँदेखि कायमै रहेको छ ।

कर्णालीमा महिलाहरू महिनावारी हुँदा अहिलेसम्म सात दिनसम्म अझै छाउगोठमा बस्नु पर्ने अवस्था कायमै रहेको समयमा सुत्केरी हुँदा पनि गोठमै बस्नु पर्ने अवस्था आएको छ । सुत्केरी हुँदा गोठमा बस्दा शिशुसँगै आमाको स्वास्थ्य निकै खतरामा रहन्छ ।

शाही ओछ्यानको तलतिर गोरुलाई ओछ्याएको पराल र सोत्तरमाथि शिशुसहित एक हप्तादेखि गोठमै दिन रात बिताईरहनु भएको छ ।

अँध्यारो भित्री गोठमा झ्याल नहुनु, ढोका पनि सानो हुनु, उपयुक्त छिद्र नहुनुले आमा र शिशुलाई आगोको धुवाले अप्ठ्यारो पार्दै आएको छ । बच्चा जन्मिएको ६ हप्तालाई सुत्केरी समय भनिन्छ ।
सुत्केरी भएको अवस्थामा आमा र बच्चालाई लालनपालनमा पहिलो प्राथमिकतामा राखेर बढी हेरचाह गरिनुको साथै पोसिलो खानपान, झोलिलो पदार्थमा बढी जोड दिनुपर्ने स्वास्थ्यकर्मीको तर्क छ ।

तर, सुदूरपश्चिम र कर्णालीका केही स्थानमा देवी देवता रिसाउछन् भन्ने डरले सुत्केरी भएकै समयमा सुत्केरी आमालाई स्याहार सुहार त परै जाओस हेलचक्र्याइँ गरिँदै आएको अवस्था हालसम्म उस्तै छ ।
सुत्केरी मनसुबा आफ्ना लागि आफैँ खाना पकाउने र गोठमा नै सुत्न बाध्य हुनु हुन्छ । सुत्केरी भएको बेला घरभित्र बस्दा देवी देवता रिसाउँछन् । त्यसैले सुत्केरी हुँदा गोठमा बस्नु परेको अवस्था आएको शाहीले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्तो बेला घरभित्रै बस्ने चाहना त हुन्छ नि तर परम्परागत मान्यताले घर भित्र गएमा शुभ हुँदैन । नौ दिन पुगेपछि चोखो पानी अन्य धार्मिक कार्य सम्पन्न गरेर घरभित्र जान्छु ।’

मनसुवाका पति दिनेशबहादुर शाहीका अनुसार सुत्केरी पत्निलाई र छोरालाई भेट्न पटक–पटक गोठमा जान्छु । बाहिर ढोकाबाटै सोध्छु, अहिले अवस्था कस्तो छ मनसुबा ? रूढीवादी सामाजिक, कुसंस्कार, अन्धविश्वासले अडेको हाम्रो समाज नवजात शिशुसहित पत्निलाई गोठमै राख्नु परेको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो घरका आमा, बुबाले नमान्ने र समाजले नानाथरी कुरा काट्ने डरले बाध्य भएर गोठमा राख्नु परेको छ । महिनावारी भएको बेला त कुरै छाडौँ सुत्केरी हुँदा पत्निले छोएको पानी र खाना अरूले खानु हुदैन ।

‘म यता आफ्नो बच्चा र पत्निको हेरचाह गर्न आउँदा पनि घर भित्र पस्ने बेला चोखिएर जानु पर्छ यदि यो गरिएन भने मलाई पनि भित्र जान दिइदैन,’ दिनेशले भन्नुभयो । जुम्लाकी मनसुबा एक उदाहरणकी पात्र मात्र हुन् । मुगु, दैलेख, सुर्खेत, कालिकोट, हुम्ला जिल्लाका महिला सुत्केरी हुँदा बाख्रा, गाई र भैँसी बाँध्ने गोठमा छाउ बस्नु पर्ने बाध्यतामा रहेका छन् ।

सुत्केरीले छोरा र छोरी जन्माएमा गोठमा बस्दा विभेद गर्ने गरिएको छ । छोरा जन्मिए नौ र छोरी जन्मिए १२ दिन गोठमा बस्नुपर्ने बाध्यता रहेको महिला स्वास्थ्य स्वयंसेविका पञ्चकला नेपालीले बताउनु भयो । सुत्केरी र शिशुको विशेष ख्याल गर्नुपर्ने भएकाले गाईगोरु बाँध्ने गोठमा बस्न दिनुहुँदैन भन्दा नमान्ने गरेको नेपालीको भनाई छ । परम्परागत रूपमा चल्दै आएको प्रचलन हो, यो प्रचलनलाई कसैले पनि रोक्न सक्दैनन् स्वयंसेविका नेपालीले भन्नुभयो ।

छाउपडी प्रथा अन्त्यका लागि विभिन्न सचेतनामूलक कार्यक्रम र छाउगोठ भत्किएँ तर समाजको हेर्ने त्यो तुच्छ नजर कहिल्यै भत्केन । वर्षौदेखि विद्यमान रहेको प्रथा हटाउन स्थानीय तहको विशेष भूमिका रहन्छ । तर, प्रभावकारी रूपमा काम गरेको देखिँदैन महिला विज्ञहरूको भनाई छ । हालसम्म ग्रामिण क्षेत्रमा महिनावारी र सुत्केरी हुँदा गोठमा बस्नुपर्ने बाध्यता हटाउन यहाँका तीनै तहका सरकारले सकेका छैनन् ।

यस्तै, वर्षेनी राज्य र विभिन्न गैरसरकारी निकायबाट कर्णालीमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि अभियान सञ्चालनका नाममा करौडौं रकम खर्च हुँदै आएको छ । कर्णालीका ग्रामिण बस्तीहरूमा जनचेतना फैलाउने नाममा राज्यको करोडौँ रकम बालुवामा पानी हाले सहर हुने गरेको छ ।

छाउगोठ भत्काउन आक्रामक बनेको सरकारले कर्णालीका नागरिकको मस्तिष्कबाट छाउ हटाउन सकेको छैन । छाउप्रथाविरुद्ध प्रशासन, स्थानीय सरकारले अभियान नै चलाएर पनि ती अभियान छाउपडी उन्मुलनविरुद्ध हुन नसक्दा कर्णालीका ग्रामीण भेगमा सुत्केरी हुँदासमेत गोठमा बस्नु बाध्यता कायमै छ ।

यहाँका तीनै तहका सरकारले यस्तो कुप्रथा, कुसंस्कृतिलाई समयमै न्यूनीकरण गर्न सकेन भने प्राय कर्णालीका महिलाहरूको अकालमै ज्यान जाने खतरा बढी हुनसक्छ ।

हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीका अनुसार यो समाजले बनाएको कुसंस्कार हो । यो परिवर्तन गर्न सकिन्छ । तर नागरिकको चेतनामा परिवर्तन एकैछिन नहुने रहेछ । यस्ता कुप्रथा न्यूनीकरण गर्नका लागि पालिकाले सचेतीकरणका कार्यक्रम सञ्चालन गरेको छ । पहिला भन्दा केही हदमा भएपनि कम हँुदै आएको छ । अझै यसलाई निर्मूल पार्नका लागि जोड दिने छौँ ।
Jumlaphoto20220703


मानदत्त रावल