जुम्लाकोटमा खानेपानी अभाव ः १ सय ७२ घरधुरीको दुई धारा मात्रै

  ०७९ असार ४ गते

तिला गाउँपालिका–८ जुम्लाकोट जुम्ला जिल्लाको विकट बस्ती हो । त्यस गाउँमा पुग्नका लागि सडक खनिए पनि रारालिहिस्थित तिला नदीमाथि पक्की पुल निर्माणाधिन अवस्थामा रहेकाले सवारी साधन चल्ने गरेका छैनन् ।

कच्ची सडक भत्काइएको छ । त्यो क्षेत्रका मालबाहक सवारी साधन भनेकै खच्चर र मानिस नै हुन् । विकास निर्माणका सामग्रीदेखि दैनिक उपभोग्य सामान खच्चर र मानिसले ओसारपोसार गर्ने गर्छन ।

तत्कालिन मालिकाठाटा र घोडेमहादेव गाविस तिला गाउँपालिका ७, ८ र ९ नम्बर वडाका जुम्लाकोट, मालापानी, रासा, खोप्री, जुम्लाकोट, ढिपु, सुडि, घोड, पोख्री लगायतका गाउँबस्ती पर्दछन् । यिनै गाउँबस्तीका नागरिकले कष्टकर जीवनयापन गर्दै आएका छन् । यो बस्ती शिक्षा, स्वास्थ्य, विकास निर्माणदेखि हरेक क्षेत्रले पछि परेको छ ।

यहाँका नागरिकले प्रयाप्त मात्रामा खानेपानी समेत खान पाएका छैनन् । तिला गाउँपालिका –८ जुम्लाकोट गाउँमा १ सय ७२ घरधुरी छन् । १ सय ७२ घरधुरीका लागि दुई वटा मात्रै खानेपानीका धारा छन् । ०५९ सालमा निर्माण भएका जिर्ण खानेपानीका धाराले खानेपानी अपुग हुने गरेको स्थानीय धनलाल बस्नेतले बताउनु भयो । उहाँले भन्नुभयो स्थानीय बासी खानेपानी भर्नका लागि राती १ बजेसम्म पालो कुरेर बस्नु पर्ने बाध्यता रहेको छ ।

यो गाउँमा ०५९ सालपछि लामो समयसम्म खानेपानीका कुनै पनि आयोजना बनेनन् । खानेपानीको निकै दुख्ख भोग्नु परेको स्थानीय सरस्वती बस्नेतले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो यो गाउँमा पुरुष भन्दा महिलालाई खानेपानीकै लागि दुख्ख छ । धारोमा पानी भर्न पालो कुर्दा कुर्दै दिनरात वित्छ । पानी भर्न महिला नै धारामा बढी जाने गर्दछन् ।

झण्डै दुई दशकपछि विकास साझेदार संस्था साझेदारी सहयोग केन्द्र (पेस नेपाल) जुम्लाले खानेपानी आयोजना निर्माण गर्न थालेको छ । आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको परियोजना संयोजक मुकेश कुमार शर्माले बताउनु भयो । उहाँले भन्नुभयो आयोजनाको लक्ष्य एक घर, एक धारा निर्माण गर्ने रहेको छ । ६९ लाख ९२ हजार ७ सय २३ रुपियाँ आयोजना लागत रहेको छ । असार मसान्तभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको छ । यस अलवा स्कुल र स्वास्थ्य चौकीमा पनि खानेपानी पु¥याउने आयोजनाको लक्ष्य रहेको छ । आयोजनाको प्रत्यक्ष काम गरेर ७७ घरधुरीले काम गरेबापत ज्याला पाउने छन् । उक्त रकम लाभग्राहीको बैंक खातामा जम्मा गरिदिने प्रावधान रहेको छ ।

वडाध्यक्ष आँसे बस्नेतका अनुसार यो गाउँमा लामो समयदेखि खानेपानी अभाव रहेको छ । यहाँ खानेपानीको समस्या छ । यसअघि खानेपानीका आयोजना बन्नु पर्ने हुन् तर बनेनन् । उहाँले भन्नुभयो पेस नेपाल जुम्लाले एक घर एक धारा खानेपानी पुग्ने गरी आयोजना बनाउँदै छ । यो आयोजना सम्पन्न भएपछि यहाँका स्थानीयबासीले प्राप्त मात्रमा खानेपानी खान पाउने छन् ।
Jumlaphoto20220618.... Jumlaphoto20220618... Jumlaphoto20220618.. PhotoJumla20220618. PhotoJumla20220618


मानदत्त रावल