जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै विद्यालय बाहिर

जुम्लाका ६ प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको पहुँच बाहिरै रहेको एक कार्यक्रममा सरोकारवालाले जनाएका छन् । गरिबी, अशिक्षा, लैङ्गिक विभेद र विद्यालयहरू बाल मैत्री हुन नसक्नुलगायतका कारणले ६ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिरै रहेको उनीहरूले बताएका हुन् ।

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा मङ्सिर ४ गते आयोजित अन्तरक्रिया कार्यक्रममा जुम्लाको बालअधिकार अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दे जिल्ला बाल कल्याण समिति जुम्लाका अधिकृत पूर्णप्रसाद धितालले जुम्लाका ६ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको बताए ।

पारिवारिक अवस्था, साथीसंगत र विद्यालयको वातावारणका कारण ६ प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवाला निकायहरूले बालश्रम न्यूनीकरणको लागि अभियान थाल्नु पर्नेमा जोड दिएका छन् । बालश्रम न्यूनकीरणका लागि सरोकारवाला निकायका संयन्त्रहरू सक्रिय बनाउन र ऐन, नियमको पालना गर्न गराउन जिल्ला बाल कल्याण समितिलगायतका सरकारी निकायलाई सुझाव दिइएको थियो ।

नेपालको कानुन अनुसार बालश्रम निषेध र नियमन गर्न बनेको ऐनमा १६ वर्षमुनिका बालबालिकालाई कठिन काममा लगाउन नहुने उल्लेख छ ।


मानदत्त रावल