जुम्लाका ४१ मतदानस्थल अति सम्वेदनशील

आसन्‍न प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि जुम्लाका ४१ मतदान स्थललाई अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ ।

सुरक्षा सम्वेदनशीलताका आधारमा ७६ ओटा मतदानस्थल मध्ये ४१ ओटालाई अति सम्वेदनशील स्थलका रूपमा राखिएको जिल्ला सुरक्षा समितिले जनाएको हो ।

सुरक्षा चुनौतिको विश्लेषणका आधारमा जिल्ला सुरक्षा समितिले जिल्लाका मतदानस्थलको बर्गिकरण गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डा. तपनकुमार दाहालले बताए । ११ ओटा मतदानस्थललाई सामान्य र १४ ओटा मतदानस्थललाई सम्वेदनशील मतदान स्थलको रूपमा बर्गिकरण गरिएको छ ।

'सुरक्षा थ्रेट र प्रहरीलाई प्राप्त विभिन्न सूचनाको आधारमा हामीले ती मतदान स्थललाई अति सम्वेदनशील स्थलको रूपमा राखेका छौँ ।'-जिल्ला प्रहरी कार्यालयका डिएसपी दाहालले भने-'स्थानीय प्रशासनले नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सुरक्षा चुनौतिका रूपमा लिएको छ ।

तीन घेरामा सुरक्षाकर्मी परिचालन गरिने पनि उनले बताए । डिएसपी दाहालका अनुसार पहिलो घेरामा म्यादी प्रहरी त्यसपछि नेपाल प्रहरी र त्यसपछि बाहिरी घेरामा सशस्त्र प्रहरी परिचालन गरिनेछ । नेपाली सेनालाई अति सम्वेदनशील मतदानस्थलमा गस्ती व्यवस्था मिलाइएको स्थानीय प्रशासनले जनाएको छ ।

भौगोलिक रूपमा विकट रहेको मतदान स्थलमा यातायात र सञ्चारको सहज पहुँच पुग्न नसकेका कारणले पनि धेरैजसो मतदान स्थललाई सम्वेदनशील मतदानस्थलका रूपमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापाले बताए ।


मानदत्त रावल