जुम्लाका १७ प्रतिशत बालबालिका खोपबाट बञ्चित

  ०७८ जुम्ला २८ पुस

जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट बञ्चित भएका छन् । खोपको पहुँचमा ल्याउन नसक्दा यहाँका आठै स्थानीय तहका १७ प्रतिशत बालबालिका खोपबाट बञ्चित भएका हुन् ।

यहाँका ८३ दशमलव १ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएको हालै यूनिसेफले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जुम्लाको सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका भित्रका ७५ दशमलव २ प्रतिशत बालबालिका पूर्ण खोपको पहुँचमा पुगेका छन् । चन्दननाथका ७५ दशमलव २ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाएको युनिसेफले जनाएको छ ।

राष्ट्रिय खोप ऐन २०७२ ले दिएको अधिकारलाई सदुपयोग गरी सबै बालबालिकालाई खोप सुनिश्चित गर्ने जरूरी रहेको अवस्थामा खोपबाट बञ्चित हुन नदिनका लागि स्थानीय सरकारदेखि सबै निकायको महत्वपूर्ण भूमिका रहेको युनिसेफ नेपालले जनाएको छ ।

राष्ट्रिय खोप निर्देशनालयका प्राविधिक सहायक कन्चन थापाले नेपाललाई पूर्ण खोप घोषणा गर्ने अभियान अन्तर्गत सबै नागरिकलाई खोपको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।

तथ्याङ्क अनुसार अझै जुम्लाका करिब १७ प्रतिशत बालबालिका विभिन्न खोपबाट बञ्चित भएकोले छुटेका बालबालिकालाई खोपको पहुँचमा ल्याउन जुम्लाका आठै स्थानीय तह जुट्नु पर्ने उल्लेख गर्नुभयो ।

‘आफ्ना बालबालिकालाई कुनै पनि खोपबाट नछुटाउन सार्वजनिक रूपमा अपिल गरेका छौँ’ जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाले भन्नुभयो ।

उहाँका अनुसार अहिले जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना बिरूद्धको खोप सञ्चालन भइरहेको छ ।


मानदत्त रावल