जुनीचाँदे गाउँपालिकामा खाद्यान्न सङ्कट

  २०८१ जेठ १८

जुनीचाँदे गाउँपालिकाममा खाद्यान्न सङ्कट भएको छ । गाउँपालिकाको  जुर्क, निपाने, मैनपाखा, ढडगाँउ र साकीयाँ गाउँमा खाद्यान्न सङ्कट भएको हो ।

ज्यालामजदुरीबाट जिविकोपार्जन गरेका स्थानीयबासीलाई खाद्यान्न सङ्कट परेपछि सास्ती पाउन थालेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री केन्द्रमा चालम नभएपछि नागरिकहरु रित्तो फर्किने गरेका छन् ।

जिल्ला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामप्रसाद पौडेलले बिक्री केन्द्रमा  मौज्दात चामल गत साता नै सकिएको थियो । चालु आर्थिक वर्षमा सुर्खेतबाट ५ सय र जिल्ला सदरमुकामबाट ७ सय क्विन्टल चामल पठाएको थियो । सो चामल बिक्री भइसकेको प्रमुख पौडेलले बताउनु भयो ।

सरकारले स्थापना गरेका बिक्री केन्द्रमा चामल थोरै तर माग धेरै भएपछि आर्थिक वर्ष समाप्त नहुँदै उक्त क्षेत्रमा चामल सकिएको छ । त्यहाँ उत्पादन भएको अन्नबालीले तीन महिना पनि खाना नपुग्ने रहेछ । यातायातको सहज पहुँच बजारको व्यवस्था नहुँदा किनेर खाने अन्न नपाइने अवस्था देखेपछि त्यहाँको नागरिकलाई समस्या परेको छ ।

वर्षेनी खाद्य सङ्कट हुने गाउँबस्तीका लागि स्थानीय रुपमा खाद्यान्न डिपो स्थापनाका लागि माग गरेको स्थानीय जयबहादुर घर्तिले बताउनु भयो । विकट बस्ती दुर्गम अन्नबाली उत्पादनमा कमी छ । यातायातको सुविधा नहुँदा खाद्यान्न ढुवानीमा समस्या आउने गरेको छ ।

जुनीचाँदे गाउँपालिका लगाएतका दुर्गम गाँउबस्तीमा खाद्य सङ्कट परेकाले सरकारले स्थापना गरेका बिक्री केन्द्रमा चामल सकिएपछि जिल्ला खाद्य व्यवस्था समितिले थप अनुदानको चामल पठाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

जुनीचाँदे गाउँपालिका–६ का स्थानीय गोपाल गिरीका अनुसार उत्पादनमा कमी आएपछि खाद्य डिपोको चामलको भरमा बसेका नागरिक चामल सकिएपछि समस्यामा परेका छन् । किनेर खानलाई बजार छैन ।

प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यको अध्यक्षतामा बसेको बैठकले रजुतरामा ५ हजार क्विन्टल चामलको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख पौडेलले बताउनु भयो ।

जिल्लाको सात ओटै स्थानीय तहमा स्थापना भएका डिपोमा चामल पठाउने निर्णय गरेको छ । कुशे टापुचौर बिक्री केन्द्रका लागि थप ५ सय क्विन्टल र नलगाड चौखा खाद्य डिपोका लागि ९ सय क्विन्टल चामलको थप गर्न माग गरेको छ । चालु वर्षमा निर्धारित कोटाको चामल सकिएपछि थप चामल माग गरिएको हो । शिवालय गाँउपालिका, छेडागाड नगरपालिका थलहबजार  नलगाड नगरपालिकाको कैनामा थप बिक्री केन्द्र स्थापनाका लागि सम्बन्धित निकायसँग माग गर्ने निर्णय समेत भएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।


बासुदेव शर्मा