जीर्ण कारागार भवनमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिदा समस्या

  ०८१ साउन ३० गते

जिल्ला कारागार, डोटीमा क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएका कारण कैदीबन्दीहरुले समस्या भोग्नुपरेको छ । क्षमता भन्दा दोब्बर कैदीबन्दी राखिएका कारण कैन्दीबन्दीहरु आधारभूत सुविधा र अधिकारबाट समेत वञ्चित भएका छन् ।

जीर्ण अवस्थामा रहेको जिल्ला कारागारको क्षमता पाँच जना महिलासहित ३० जनाको भए पनि हाल दुई जना महिलासहित ६९ जना कैैदीबन्दी राखिएका कारण कैदीबन्दीहरुलाई बस्न, सुत्न र शौचालय प्रयोग गर्न समेत समस्या हुनेगरेको छ ।

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएकाले सुत्न, खान, शौचालय प्रयोगलगायतका समस्या भोग्नुपरेको कैदीबन्दीले गुनासो गर्नुभएको छ ।

जिल्ला कारागारको दुई ओटा भवन मध्ये पुरुष कैदीबन्दी बस्ने भवन जीर्ण अवस्थामा रहेकोले सुरक्षाका दृष्टिकोणबाट उच्च जोखिम रहेको र क्षमता भन्दा बढी कैदीबन्दी भएकाले कोच्चिएर बस्नु पर्ने बाध्यता रहेको जेलर सरिता चन्दले बताउनु भयो ।

क्षमता भन्दा बढी कैदीबन्दी रहेकोले गर्मियाममा स–साना कोठामा कोच्चिएर बस्नु पर्दा छालाजन्य रोगको संक्रमणबाट कैन्दीबन्दीहरु पीडित हुने गरेका र कैदीबन्दीहरुका लागि खेलकुदका सामग्री र  पुस्तकालयको अभाव समेत रहेको जेलर चन्दले बताउनु भयो ।

कारागार सुधारका लागि सम्बन्धित निकायलाई जानकारी गराएको र सुधारका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यालय, डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनु भयो ।


सुबास नेपाली