जिल्ला स्वास्थ्य कार्यलयमा औषधिको चरम अभाव

जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा औषधिको चरम अभाव भएको छ । बडिमालिका नगरपालिका-१२ की होईजाली विक छोराको उपचारको लागि जिल्ला स्वास्थ्य कायलय पुगिन । जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा निशुल्क दिनु पर्ने ७२ प्रकारका औषधि भित्र होईजालीका छोराका लागि चाहिने डिस्पोजेबल सिरिन्ज पनि हो तर उनले बजार बाटै किन्नु परेको बताइन् । उनी एक उदाहरण मात्र हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका स्टोर किपर तेजसिंह साउदले भने-'हाम्रो यहाँ सिटामल पनि छैन । गोलोप्स नभएको त धेरै भैसक्यो । निशुल्क दिनु पर्ने ७२ प्रकारका औषधिमा गत वर्षको बाट बचेका १०-१२ प्रकारका औषधि मात्र छन् ति पनि धेरै मात्रामा प्रयोग नहुने भएकाले हो ।'

नेपाल सरकारले निशुल्क रूपमा जिल्ला अस्पतालबाट ७२, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५५ र स्वास्थ्य चौकीबाट ४५ किसिमका औषधिहरू बिरामीलाई उपलब्ध गराउनु पर्ने नीतिगत व्यवस्था छ ।

स्वास्थ्य कार्यालय बाजुरामा बिरामी बेाक्नाका लागि एउटासम्म स्टेचर छैन । शनिबार बिहान सुत्केरी भएकी बडिमालिका-१२ की गीतादेवी बढुवाल स्टेचर नभएका कारण घर लैजान नसकिएकेा कुरा उनका पति सुर्यबहादुर बढुवालले बताए । बडुवालले भने-'दुई दिनसम्म सबै सरहरूलाई स्टेचर मिलाइदिनुस् भनेर हार गुहार गरेँ । स्टेचर छैन भन्ने जबाफ मात्रै पाएँ । सरकारले दिने सेवा भाषण र कागजमा मात्र हुँदो रहेछ ।'

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख अशोक सिंहले भने-'म एक दिनका लागि मात्र हाकिम हुँ । यस बारेमा थाहा छैन । हुनु पर्ने हो ।' उनले उल्टै सोधे?'छैन र ?'

जिल्ला स्वास्थ्य कार्यलय कागजी तथ्याङ्कका रूपमा देशकै छैठौँ राम्रो सेवा दिएको भनेर सरकारले घोषणा गरेको एक महिना पनि भएको छैन । तर, सेवा र सुविधाको अवस्थाले भने यहाँ आउने बिरामी आजित भइसकेको बताउँछन् ।


पदम सिंह