जिल्ला समन्वय समितिका संयोजक र पुर्व राजदुत दिपकुमार उपाध्यायविरूद्ध उजुरी

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै जिल्ला समन्वय समितका संयोजक नारायण खनाल र पुर्व राजदुत एवम् नेपाली काङ्ग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपकुमार उपाध्यायविरूद्ध कात्तिक २६ गते जिल्ला निर्वाचन कार्यालयमा उजुरी दर्ता भएको छ ।

प्रतिनिधि सभा क्षेत्र नं १ का लागि नेपाली काङ्ग्रेसका तर्फबाट उम्मेदवार दिपकुमार उपाध्यायविरूद्ध निर्वाचन आयोगले तोके भन्दा ठुलो साईजमा होडिङबोर्ड, ब्यानरहरू सार्वजनिक स्थलमा टाँगेको भन्दै कपिलवस्तु नपाका स्थानीय विक्रम बढइले उजुरी दर्ता गरेका हुन् । निर्वाचन आयोगद्वारा जारी आचारसंहितामा सार्वजनिक स्थलमा प्रचार सामग्री राख्न नपाइने र एक रङ्मा मात्र पर्चा/पम्पलेट प्रकाशन तथा वितरण गर्न पाइने उल्लेख छ ।

यसैगरी जिल्ला समन्वय समितिका संयोजक नारायण खनालका विरूद्धमा पनि आचारसंहिता उल्लङ्घनको उजुरी दर्ता भएको छ । खनालले बुद्धभुमि नपा-८ हरिहरपुरमा नेपाली काङ्ग्रेसले आयोजना गरेको चुनावी कार्यक्रममा सरकारी सवारी साधन लु १ झ ३४२ न को गाडी दुरुपयोग गरेको भन्दै उजुरी परेको हो  ।

खनालका विरूद्ध आचारसंहिता विपरीत राज्यको सम्पत्ति दुरुपयोग गरेको भन्दै कपिलवस्तु नपा-४ का मिलन उपाध्यायले उजुरी दर्ता गरेका हुन् ।

निर्वाचन कार्यालयले आचारसंहिता उल्लङ्घनको उजुरी परेकोले त्यसको स्थलगत अनुगमन गरी उल्लङ्घन गरेको पाइएमा त्यसलाई सच्याउन निर्देशन दिने र समयमा नसच्याई अटेर गरेमा कानुन अनुसार कारबाही अगाडि बढाइने जिल्ला निर्वाचन अधिकारी ज्ञानहरी घिमिरेले बताए ।

आचारसंहिता गम्भीर उल्लङ्घन भएको पाइएमा बढीमा १ लाख रुपियाँसम्म जरिबाना तथा उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुने ब्यवस्था रहेको घिमिरेले बताए ।

कपिलवस्तु जिल्लामा हालसम्म आचारसंहिता उल्लंघनका दुई ओटा उजुरीमात्र दर्ता भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।


नन्दराम पौडेल