जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अधिकारकर्मीहरुको आपत्ति

दमौलीमा निर्माण भएको जिल्ला सभाहल अपाङ्गमैत्री नभएकोमा अपाङ्गता को क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरुले आपत्ति जनाएका छन् । पुरानो जिल्ला सभा गृह भएको ठाउँमा नयाँ सभागृह निर्माण गरिएपनि उक्त सभाहल अपाङ्गमैत्री नभएको भन्दै अधिकारकर्मीहरुले आपत्ति जनाएका हुन् ।

संघीय सरकारको शहरी विकास मन्त्रालयद्वारा निर्माण गरिएको उक्त सभागृह अपाङ्गता भएका व्यक्तिहरुको सहज पहुँचमा छैन । सहृदयी मञ्च तनहुँको संयोजनमा साउन ७ गते अपाङ्गता भएका व्यक्तिहरुले सभा हलको अवलोकन गरेका थिए ।

सभाहलको अनुगमन पछि उक्त भवन सिमित व्यक्तिहरुको लागि मात्रै बनेको रहेछ भन्ने महशुस भएको अपाङ्गता अधिकारकर्मी मदन पौडेलले बताउनु भयो । ‘भवनको प्रवेशद्वार देखि नै ठाउँ–ठाउँ मै काडेतार लगाएको महसुस भो हामीलाई’ पौडेलले भन्नु भयो ‘केही ठाउँमा बनेको ¥याम्प पनि कुनै गुणस्तरकै छैन, यति ठूलो सार्वजनिक भवन त्यो पनि अहिलेको जमानामा बनेको भवनमा समेत अपाङ्गता भएका व्यक्तिको लागि शौचालय समेत छैन ।’

सरकारले बनाउने सार्वजनिक स्थल सबैको लागि बन्न पर्छ भन्ने हेक्का सरकारलाई हुँदैन भन्दै पौडेलले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्न स्थापना भएका संघ संस्थाहरुले सुरुवात देखि नै अवलोकन, समन्वय तथा दबाब गर्न पर्ने होइन ? भन्ने प्रश्न पनि गर्नु भएको छ ।

जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको यस भवनलाई पूर्ण मानवमैत्री बनाउन जिल्ला समन्वय समितिले तत्काल नै पहल गर्नु पर्ने सह्यदयी मञ्च तनहुँकी अध्यक्ष सावित्री सुवेदीले बताउनु भयो ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि, अपाङ्गता भएका व्यक्ति अधिकार सम्बन्धी ऐन तथा नियमावली र अन्य निर्देशिकाहरुले सार्वजानिक संरचना अपाङ्गमैत्री बनाउनु पर्ने स्पष्ट व्यवस्था गरेको भन्दै उक्त जिल्ला सभाहल पूर्ण मानवमैत्री भवन नबने सम्म उक्त भवनको उदघाटन हुन नदिने र सन्चालन हुन नदिने अभियान चलाउनु पर्ने पौडेलले बताउनु भयो ।

सहृदयी मञ्च तनहुँ नेपालको समन्वयमा जिल्ला समन्वय समिति तनहुँका जिल्ला समन्वय अधिकारी, अपाङ्गता अधिकारकर्मी, सहृदयी मञ्च तनहुँ, व्यास नगर अपाङ्गता समन्वय समिति, तथा सहृदयी मञ्च तनहुँ नेपाल लगाएत संस्था का प्रमुख तथा प्रतिनिधिहरुकोे टोलीले जिल्ला सभागृहको अवलोकन गरेको थियो । अवलोकनको क्रममा निर्माणको अन्तिम चरणमा पुगेको उक्त भवनको कुनैपनी संरचना अपाङ्गमैत्री नभएको पाइएको पौडेलले बताउनु भयो ।

जिल्ला समन्वय अधिकारी थमन सिंह थापाले भवनको डिजाइन र निर्माण सबै सहरी विकास मन्त्रालयले नै गरेको हुँदा भवनको संरचनाको बारेमा आफुहरुलाई केही जानकारी नभएको बताउनु भयो । उहाँले यति ठुलो संरचना अपाङ्गमैत्री बनाउनु पर्ने तर भवनको डिजाइन गर्ने समयमा कमजोरी भएको बताउनु भयो ।

sabhagriha hall.abalokansabhagriha hall.1


प्रकाशचन्द्र भट्टराई