जिल्ला सदरमुकाम दुनैमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती

  ०८१ जेठ २९ गते

जिल्ला सदरमुकाम दुनैमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । ठूलीभेरी नगरपालिका–३ दुनैमा हरेक वर्ष खडेरीको समयमा पानीको मुहान सुकेपछि खानेपानीको अभाव भएकाे हाे । यहाँ वर्षौ देखि खानेपानीको समस्या रहँदै आएको छ ।

जिल्लाका अधिकांश स्थानीय तहहरूले ‘एक घर, एक धारा’ भन्ने अभियान लिए पनि जिल्लाको सदरमुकाम दुनैमा विभिन्न मुहानबाट खानेपानीको आपुर्ति हुँदै आएको थियो । खडेरीको समयमा पानीको मुहान सुकेपछि अहिले पानीको समस्या देखिएको दुनै खानेपानी उपभोक्ता समितिका अध्यक्ष बबीकिशोर गुरुङले जानकारी दिनु भयो। प्रायजसो पानीको अभाव नै हुन्छ । खडेरीले गर्दा अझ बढी समस्या भएको छ । सदरमुकाममा बस्ती अनि बजारीकरण बढे सगै हाल पानीको अभाव रहेको उहाँले भन्नुभयो ।

अहिले पानीको समस्या हुँदा पिउने पानी देखि दैनिकी कपडा धुने र सरसफाइ गर्ने लगाएको प्रयोजनका लागि भेरी नदीको पानी प्रयोग गरिरहेको ठुलीभेरी नगरपालिका–३ की ४५ वर्षीया स्थानीय पवित्रा शाहीले बताउनु भयो। खानेपानीको अभाव हुँदा नदीको पानी पिउन पर्ने बाध्यता रहेको छ । बर्खाको समय सुरु भए सगै भेरी धमिलो देखिन थालेपछि अझ झन् समस्या हुने गरेको उहाँको भनाइ छ ।

सरकारले सदरमुकामका स्थानीबासीलाई पर्याप्त खानेपानीको सुविधा पुर्याउन नसक्नु दुःखको कुरा भएको  स्थानीय २५ वर्षीया सिर्जना विकले गुनासो गर्नुभयो । स्थानीयबासीले वर्षा तथा गर्मी दुबै समयमा खानेपानीको समस्या लामो समयदेखि भोग्दै आएको उहाँले बताउनुभयो ।

अहिले सदरमुकाममा पानीको समस्या समाधान गर्न ठुलीभेरी नगरपालिकाले सुस्वा परियोजना मार्फत योजनाको काम भइरहेको नगर प्रमुख सुवर्ण बुढाले जानकारी दिनुभयो ।

योजना निर्माणको काम सम्पन्न भए लगत्तै सदरमुकाममा खानेपानीको समस्या समाधान हुने उहाँको भनाइ छ । सदरमुकामा खानेपानीको समस्या लामो समयदेखि रहँदै आएको र यसलाई समाधान गर्न नगरपालिका लागि परेको छ । सदरमुकाममा रहेका सरकारी कार्यालयहरूमा पनि गर्मीको समयमा प्रत्येक वर्ष खानेपानीको अभाव हुने गरेको उहाँले बताउनुभयो ।

Photo20240611Dolpa


पुर्ण साकी