जिल्ला सदरमुकाममा खानेपानीको अभाव

  ०८१ कात्तिक २४ गते

जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने भए पनि नगरपालिका र उपभोक्त समितिको ध्यान नगएपछि तीन हप्तादेखि सदरमुकाममा खानेपानीको चरम अभाव भएको हो ।

जिल्ला सदरमुकाममा सधैँ खानेपानीको अभाव भइरहने भए पनि सरोकारवालाहरूको चासो कम हुने रास्कोट नगरपालिका–७ घरभइ जिल्ला सदरमुकाम मान्ममा बस्दै आउनु भएकी नविता रोकायाले बताउनु भयो । उहाँका अनुसार खानेपानीको अभाव भएपछि नुहाउन कपडा धुन समेत दुई किलोमिटर टाढा काउले खोला जानु पर्ने अवस्था रहेको छ ।

सदरमुकाम मान्म बजारमा खडेरी र वर्षातको समयमा पनि पानी अपुग भइरहने भए पनि सरोकारवालहरूको स्थायी समाधानमा ध्यान पुगेको छैन । मुहान, खोला खोल्सामा आउने पहिरो, गाई बस्तु चराउने व्यक्तिले आगो लगाइ डढेलो लागेर पाइपहरू पोलिने भएकाले पानी अभाव हुने गरेको छ ।

पानीको अभाव भएपछि होटल व्यावसायी दत्तबहादुर मल्लले भाडाको अटोमा खोलाको पानी बोकेर सरसफाइ गर्नु परिरहेको बताउनु भयो । उहाँले पानी अभावले एक घण्टा टाढा, कसैको नीजि पानीको धारामा अनुरोध गरेर पिउने पानीको जोहो गर्नु पर्ने बजारका नागरिकको दैनिकी रहेको गुनासो गर्नुभयो ।

खाँडाचक्र नगरपालिकाका उपप्रमुख गणेशबहादुर शाही आकासले पुरानो मुलबाट आउने पानीको पाइप जीर्ण रहेको र कम पानी आउने तथा नयाँ खानेपानीका लागि ट्याङ्की ठूलो भएर पानी खोलामा फालेका कारण बजारमा खानेपानीको अभाव भएको बताउनु भयो ।

खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज टमटाका अनुसार खाने व्यवस्थापन सम्बन्धी अवश्यक कार्यविधि बनाउन नसकेका कारण खानेपानीको समस्या समाधान हुन नसकेको हो । सङ्घीय सरकारले मान्म खानेपानीका लागि बजेटको व्यवस्थापन गरे पनि कामको जिम्मा लिने निर्माण व्यवसायी र नगरपालिका बीचको आन्तरिक विवादका कारणले आयोजना आधा निर्माणमै सीमित छ ।


कालीबहादुर मल्ल