जिल्ला सदरमुकाममा खानेपानीको अभाव

  २०८१ वैशाख २१

जिल्ला सदरमुकाम रहेको खाँडाचक्र नगरपालिका–१ मान्म बजारमा एक महिनादेखि खानेपानीको अभाव भएको छ ।

अव्यवस्थित खुलारुपमा ल्याइएका पाइपहरुमा वनमा लागेको डढेलोका कारण ठाउँ ठाउँमा पाइप पोलिएपछि एक महिनादेखि सदरमुकाममा खानेपानीको चरम अभाव भएको हो ।

जिल्ला सदरमुकाममा सधैँ खानेपानीको अभाव भइरहने भएपनि सरोकारवालाहरुको चासो कम हुने गरेको शुभकालिका गाउँपालिका–२ घर भइ सदरमुकाम बस्दै आएका नन्दबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार खानेपानीको समेत अभाव भएपछि नुहाउन कपडा धुन समेत दुई किलोमिटर टाढा जानु पर्ने अवस्था रहेको छ ।

खडेरी र वर्षातको समयमा पनि पानी अपुग भइरहने गरेको छ । खोला खोल्सामा आउने पहिरो, गाईबस्तु चराउने व्यक्तिले पानीको पाइप काट्ने भएकाले र अहिले खडेरीमा वनमा लागेको आगोले पाइपहरु पोलिएपछि  पानी अभाव हुने मान्म बजारमा यो समयमा झन हाहाकार हुने गरेको छ ।

पानीको अभाव भएपछि होटल व्यावसायी सुशिला विष्टले गाडीमा खोलाको पानी बोकेर सरसफाइ गर्नु परिरहेको बताउनु भयो । उहाँले पानी अभावले एक घण्टा टाढा, कसैको नीजि पानीको धारामा अनुरोध गरेर पिउने पानीको जोहो गर्नु पर्ने बजारका नागरिकको दैनिकी रहेको सुनाउनु भयो ।

खाँडाचक्र नगरपालिका–१ का वडा अध्यक्ष धर्मराज टमटाले पाइप लाइन व्यवस्थित नभएकोले र आगलागीका कारण खानेपानीको समस्या समाधान गर्न नसकिएको स्वीकार गर्नुभयो ।

सङ्घीय सरकारले मान्म खानेपानीका लागि बजेटको व्यवस्थापन पनि नगरेको होइन । कामको जिम्मा लिने निर्माण व्यवसायी र नगरपालिका बीचको आन्तरिक विवादका कारणले आयोजना आधा निर्माणमै सीमित छ ।

Photo20240503Kalikot


कालीबहादुर मल्ल