जिल्ला प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा सेवाग्राही प्रभावित

जिल्ला प्रशासन कार्यालय हुम्लामा कार्यरत १४ जना कर्मचारी एक महिनादेखि कार्यालयमा उपस्थित नहुँदा सेवाग्राही प्रभावित भएका छन् ।

प्रशासन कार्यालयमा १७ जनाको दरबन्दी रहेकामा हाल तीन जनामात्र कार्यरत छन् । प्रशासन कार्यालयमा एक महिनादेखि कर्मचारी नहुँदा नागरिकता, 'सिमापास'का लागि पासपोर्ट, संस्था दर्ता, संस्था नविकरण र खाद्यान्न कुपन जस्ता काममा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

सदरमुकामदेखि ५८ कोष टाढा रहेको नाम्खा गाउँपालिका-६ स्थित लिमी गाउँका १९ वर्षीय तान्वा लामाले भने-हिँडेको चार दिनपछि सदरमुकाम सिमकोटमा पुगिन्छ । बाटोमा कम्तीमा ७ हजार रुपियाँदेखि १० हजार रुपियाँसम्म खर्च गर्नुपर्छ । छिटो नागरिकता र सिमापास बन्छ की भनेको त आएको नौ दिन भइसक्यो आजआज भोलिभोलि भन्दै जिल्ला प्रशासन कार्यालयले झारो टार्ने काम गरिरहेको छ ।'

प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, नायव सुब्बा दुई जना, खरिदार चार जना, लेखापाल एक जना, कम्प्युटर अपरेटर एक जना, सहायक कम्प्युटर अपरेटर एक जना र कार्यालय सहयोगी ६ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालयमा अहिले प्रमुख जिल्ला अधिकारी, सहायक कम्प्युटर अपरेटर र कार्यालय सहयोगीमात्र रहेका छन् ।

प्रशासन, लेखा, मुद्दा र नागरिकता फाँट गरी चारफाँट रहेको जिल्लाको प्रमुख प्रशासनिक निकायमा सबै फाँटमा कर्मचारी नहुँदा स्थानीयबासीका कामकाजमा बाधा भएको छ ।

हुम्लामा २१ जनाले स्वच्छिक अवकास रोजेका कारण पनि जनशक्ति बाहिरिन खोज्नु र पहिले नै कम रहेको जनशक्तिबाट स्थानीय तहलाई व्यवस्थापन गर्नु परेकाले पनि कर्मचारी अभाव भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।

जिल्ला प्रशासन कार्यालयमा एक महिना अघि लोक सेवा आयोगबाट सिफारिस भई आएका दुईजना नायव सुव्बा आफ्नो पायक पर्ने स्थानीय तहमा सरुवा भई गएकाले पनि जिल्ला प्रशासनमा कर्मचारी अभाव देखिएको उनले बताए ।

जिल्लाका सबै कार्यालयको अवस्था उस्तै रहेको छ । जनशक्ति अभाव हुँदा कार्य सम्पादनमा प्रभाव परेको बताउँदै प्रजिअ शर्माले कार्यालयको कामकाजमा धेरै बाधा परेको उल्लेख गरे ।

स्थानीय तहमा समेत कर्मचारी अभाव देखिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लामा तीन गाउँपालिकामा मात्र प्रमुख प्रशासकीय अधिकृत रहेका छन् भने तीन वटा गाउँपालिकामा नायव सुब्बाले र एउटा गाउँपालिकामा खरिदारले प्रमुख प्रशासकीय अधिकृतको काम सञ्चालन गरिरहेको प्रजिअ शर्माले बताए ।


नन्द सिंह