जिल्ला कारागार लमजुङमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सास्ती

बेँसीशहर नगरपालिका– ८ शेराबजारमा रहेको जिल्ला कारागार लमजुङमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सास्ती भएको छ ।

महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको कारागारमा हाल विभिन्न कसुरमा सजाय भुक्तान गर्दै आएका कैदी र बन्दी गरी १ सय ६ जना रहेका छन् ।

यीमध्ये पुरुष तर्फ ५२ जना कैदी र ५० जना थुनुवा रहेका छन् जुन क्षमता भन्दा तेब्बर रहेको छ । महिला तर्फ चार जना कैदीबन्दी रहेका छन् ।

कारागारका निमित्त जेलर सुमित मरासिनिका अनुसार क्षमताभन्दा तेब्बर कैदीबन्दी राखिएपछि उनीहरु सकसमा दिनरात गुजार्न बाध्य छन् । कानुनी मापदण्डअनुसार एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार मिटर चौडाइ क्षेत्रफलको व्यवस्था गर्नुपर्ने प्रावधान रहेको छ । कानुनी प्रावधान अनुसार कारागार ३५ जनाको लागि मात्रै उपयुक्त भएपनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेको छ ।

पुरानो संरचना, क्षमताभन्दा बढी कैदीबन्दी हुँदा दिनरात गुजार्न निकै सास्ती भएको कैदीबन्दीले बताएका छन् ।

एउटै कोठामा धेरैजना बस्नुपर्ने हुँदा निकै कठिनाइ भएको एक कैदीबन्दीको भनाई छ । सुत्ने ठाउँ अपूग हुँदा खाटमुनी समेत सुत्नुपर्ने बाध्यता रहेको छ । सुत्नका लागि खाटको पनि अभाव छ । गर्मीको समयमा धेरै जना एकै ठाउँमा कोचिएर खान बस्नदेखि सुत्नु पर्दा निकै समस्या हुने गरेको छ ।

गर्मीमा पर्याप्त रुपमा पंखाको व्यवस्थापन नभएको कैदीबन्दीको गुनासो छ । ठाउँ अभावमा हिँड्ने बाटोमा सुत्नुपर्ने अवस्था रहेको छ । एकैठाउँमा धेरैजना बस्नुपर्ने अवस्थामा एकजनामा भएको रोग अर्को व्यक्तिमा समेत सर्न सक्ने उच्च सम्भावना रहेको कैदीबन्दी बताउँछन् । करीब चार रोपनी क्षेत्रफलमा कारागारको कार्यालयदेखि कैदीबन्दी बसोबास गर्ने संरचना रहेको छ । कारागाराका लागि आठ रोपनी क्षेत्रफल आवश्यक पर्दछ । कारागार पुरानो र क्षमताभन्दा बढी कैदीबन्दी हुँदा उनीहरुलाई विभिन्न समस्या हुने गरेको छ ।


सुमित्रा भुजेल