जिल्ला कारागार लमजुङबाट भागेका दुई बन्दी मध्ये एक गिरफ्तार

  ०८० जेठ १९ गते

जिल्ला कारागार लमजुङबाट जेठ १८ गते राति दुइजना बन्दी कारागारको पर्खाल चढेर हाम्फालेर भागेका मध्ये एकजनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

रातको समयमा बन्दीहरूले बिक्रीका लागि बनाएका बाँसका मुढाहरू खप्ट्याएर अग्लो बनाई कारागारको पर्खाल चढेर हाम्फालेर भागेको जिल्ला कारागार लमजुङका जेलर कमलापति अधिकारीले जानकारी दिनुभयो ।

पुरानो र अव्यवस्थित कारागारको संरचनाका कारण यस्तो भएको र सुरक्षाकर्मीको ड्युटी फेरीने बेलाको मौका छोपेर बन्दीहरू भागेको उहाँले बताउनुभयो ।

कारागारबाट भाग्नेहरूमा लमजुङको मध्यनेपाल नगरपालिका– ४ दुइपिप्ले घर भएका २७ वर्षीय बिनोद वि.क. र गोरखाको चुम्नुव्री गाउँपालिका– ३ घट्टेखोला घर भई पोखरा महानगरपालिका– १६ बस्ने ३७ वर्षीय चन्द्रबहादुर गुरुङ रहेको अधिकारीले बताउनुभयो ।

बिनोदलाई २०७९ साउन २४ गते बलात्कार मुद्दामा र गुरुङलाई २०८० वैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो ।

घटना भएको थाहा पाए लगतै जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश श्रीमल प्रहरी टोलीका साथ खोजीकार्यमा खट्नुभएकोमा सोहि दिन बिहान करिब ११ः३० बजे बेसीशहर नगरपालिका– २ चिसापानी डाँडाबाट विनोद वि.क.लाई गिरफ्तार गर्न प्रहरी सफल भएको र गुरुङको तिब्र खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दिनरात नेपाल प्रहरीको निगरानीमा रहने संवेदनशील क्षेत्र एवम् विशेष सुरक्षा घेरा भित्रबाट यसरी कारागार भित्रका बन्दीहरू भाग्न सफल हुनुले प्रहरीको सुरक्षा सतर्कतामा प्रश्न उठेको सरोकारवालाहरूको भनाइ छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले यस प्रकारको अवस्था सिर्जना हुनु दुखद रहेको, अहिले भागेका बन्दीको खोजी कार्य तिव्र पारिएको र अन्य कुराहरूको बारे छिट्टै छानबिन गरिने जानकारी दिनुभयो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जगदिश रेग्मीले प्रहरीको पूर्ण सुरक्षा घेरा हुँदा हुँदै पनि यस यस प्रकारको घटना घट्नुले प्रहरी माथीको विश्वासमा शङ्का आउने अवस्था भए पनि यसमा जिर्ण अवस्थामा रहेको कारागार भवन र व्यवस्थित तारबारको व्यवस्था नहुनु पनि भएको बताउनु भयो । यस विषयमा छिट्टै सत्य तथ्य छानबिन गरिने उहाँले बताउनु भयो ।


प्रमोद अधिकारी