जिल्ला कारागारमा एक जना थुनुवाको मृत्यु

  ०८१ असोज १ गते

कैलाली जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि थुनामा राखिएका घोडाघोडी नगरपालिका–४ जनकपुरका २२ वर्षीय दिपक विकको ०८१ भदौ ३१ गते मृत्यु भएको छ ।

पुर्पक्षका लागि थुनामा रहेका विक भदौ ३१ गते शौचालय भित्र बेहोस् अवस्थामा फेला परेपछि उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्युभएको जिल्ला कारागार, कैलालीका प्रमुख दिपक पाण्डेले बताउनु भयो ।

विष सेवन गरी बि.क.ले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको भए पनि शवको पोष्टमार्टम रिपोर्ट नआउँदासम्म मृत्युको कारण बताउन नसकिने जिल्ला कारागार, कैलालीका प्रमुख पाण्डेको भनाइ छ ।

खानामा विष मिसाएर कारागार भित्र पुर्‍याई बि.क.को हत्या गर्न सहयोग गरेको आरोपमा प्रहरीले १७ वर्षीया बालिकालाई असोज १ गते अत्तरीयाबाट गिरफ्तारी गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले बताउनु भयो ।

मृतक बि.क.ले भदौ ३१ गते दिउसो एक बजे फोनमार्फत परिवारका सदस्यहरुसँग कुराकानी गरेको भए पनि सोही दिन भदौ ३१ गते दिउसो चार बजे मृत्यु भएको खबर प्राप्तभएको र मृतकका बुबा असोज २ गते मात्रै भारतबाट धनगढी आइपुग्ने भएकाले घटनाका बारेमा कहिकतै उजुरी नदिएको मृतकका आफन्त निर्माण पहराईले बताउनु भयो ।

जिल्ला कारागार, कैलालीमा पुर्पक्षका लागि राखिएका बि.कलाई कारागार भित्रै कुटपिट गरी हत्या गरेको समाचार केही स्थानीय पत्रिकामा प्रकाशित भएकोले घटनाको सत्यतथ्य छानविन गरी पीडित परिवारले न्याय पाउनु पर्ने पीडितका आफन्त पहराईको भनाइ छ । शवको पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ ।

जिल्ला अदातल, कैलालीको आदेशमा बलात्कार घटनाका आरोपित बि.कलाई २०८० फागुन ३ गते पुर्पक्षका लागि थुनामा पठाएको थियो ।


मैनामोती चौधरी