जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या

  ०८१ मङ्सिर २९ गते

जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्या भएको छ । औषधि उपचारका लागि प्यूठान आयुर्वेद स्वास्थ्य सेवा केन्द्र पुग्ने बिरामी औषधि अभावमा रित्तै फर्किने परेको मल्लरानी गाउँपालिका-४ का ३३ वर्षीय सुजल श्रेष्ठले बताउनु भयो । आफू ग्याष्टिको औषधि लिन गएकोमा सेवा केन्द्रमा औषधि नभएको सेवा केन्द्र बताएको गुनासो गर्नुभयो ।

नियमित आर्युवेदिक औषधि प्रयोग गर्ने बिरामीहरूले आफूले चाहेको बेला जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधि नपाउने गरेको बताउँदै आएका छन् । चालु आर्थिक वर्षमा औषधि खरिद हुन नसक्दा आर्युवेद स्वास्थ्य सेवा केन्द्रमा औषधि अभाव भएको हो । आर्युवेद स्वास्थ्य सेवा केन्द्रले २३ प्रकारका औषधि निःशुल्क वितरण गर्ने र त्यसमध्ये बढी माग हुने अभिपत्तिकर चुर्ण र असोगन्धा चुर्ण सेवा केन्द्रमा नभएको जिल्ला आर्युवेदिक सेवा केन्द्रका प्रमुख शिसिर पोख्रेलले बताउनु भयो ।

अन्य औषधि पनि गत वर्ष खरिद गरेको औषधिले अहिलेसम्म काम चलाएको सेवा केन्द्रका प्रमुख शिसिर पोख्रेलले बताउनु भयो । 'तेस्रो चौमासिकमा औषधि खरीदको बजेट छ । जसले गर्दा औषधि खरिद गर्न सकिएको छैन । बजेट अगाडि सार्न माग गरिएको छ' - उहाँले भन्नुभयो । वार्षिक ६ लाख रुपियाँ मात्र औषधि खरिदका लागि रकम विनियोजन भएको र सो विनियोजित बजेठ थोरै रहेको समेत प्रमुख पोख्रेलले बताउनु भयो ।

जिल्लामा सरुमारानी गाउँपालिका बाहेक आठ ओटै स्थानीय तहमा आर्युवेद सेवा विस्तार भएको छ । नेपालको संविधानको मौलिक हक अन्तर्गत धारा ३५ को उपधारा १ मा प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने अधिकारको सुनिश्चिता गरिएको भए पनि जिल्ला आर्युवेदिक सेवा केन्द्रमा औषधिको अभाव हुँदा सेवाग्राहीलाई समस्यामा परेका छन् ।


रविन्द्र पाण्डे