जिल्ला अस्पताल जोड्ने पक्की पुल नबन्दा बिरामीलाई समस्या

  ०८१ भदौ २४ गते

जिल्लाको एक मात्र अस्पतालको रूपमा रहेको जिल्ला अस्पताल, डोल्पा जोड्ने मोटरेबल पुल नहुँदा उपचारका लागि अस्पतालसम्म पुग्न बिरामीलाई समस्या भएको छ । पुल नहुँदा अस्पतालसम्म एम्बुलेन्स नजाने भएकाले बिरामीलाई घुमाउरो बाटोबाट घण्टौँसम्म बोकेर अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ ।

सदरमुकामस्थित लामालोटे र कालिका मन्दिर आसपासबाट बेलिब्रिज बनाएर बिरामी बोकेको एम्बुलेन्स सिधै अस्पतालसम्म पुर्‍याउन सकिने भए पनि पुल निर्माणका लागि अहिलेसम्म कसैले पनि चासो नदेखाएको अस्पताल र स्थानीयको गुनासो छ । बजारको झोलुङ्गे पुलसम्म मात्र मोटरबाटो भएकाले त्यहाँसम्म मात्र एम्बुलेन्सले बिरामी ल्याउँछ । त्यसपछि बिरामी बिचबाटोमै अलपत्र पर्ने गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका-५ की २८ वर्षीय हीरा देवी घर्तीले बाटो नहुँदा बिच बाटोदेखि आफै आफ्नो बुबालाई बोकेर अस्पतालसम्म पुर्‍याएको बताउनु भयो । उहाँका अनुसार कहिलेकाहीँ बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पतालसम्म लैजाने मान्छे नपाउँदा बिरामीले बाटोमै ज्यानसमेत गुमाएका छन् । त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका-१ का ३३ वर्षीय तुलबहादुर सार्कीले पनि पुलका कारण आफू बिरामी भएको बेला समेत सास्ती खेप्नु परेको बताउनु भयो । उहाँले पुल समयमै नबन्दा डोल्पाका नागरिकले दैनिकी समस्या खेप्नु गरेको गुनासो पोख्नु भयो ।

पुल नभएकै कारण अस्पताल पुर्‍याउन ढिला हुँदा कतिपय बिरामीहरूको अस्पताल पुग्दै गर्दा बिच बाटोमै ज्यान जाने गरेको जिल्ला अस्पताल, डोल्पाका चिकित्सक प्रमुख डाक्टर अखण्ड उपाध्यायले बताउनु भयो । ‘गाडी छुटेदेखि अस्पतालसम्म पुग्ने बाटो घुमाउरो र जोखिमपूर्ण छ । कतिपय गर्भवती महिला बिचबाटोमै सुत्केरी हुने गरेका छन् । पुलका लागि धेरै ठाउँमा गुहारियो । तर कसैले पनि कुरा सुनेनन्', डाक्टर उपाध्यायले भन्नुभयो ।

मोटरेबल पुल नहुँदा बिरामीलाई एम्बुलेन्समा सिधै अस्पताल पुग्न समस्या हुने भएपछि पक्की पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालयबाट आ.व. ०७९/८० का लागि पहिलो चरणमा २ करोड रकम छुट्याइएको थियो । रकम छुट्याइएको वर्षौँ बितिसक्दा समेत पुल निर्माणको कामले गति लिन सकेको छैन ।

पूर्वाधार विकास कार्यालय, डोल्पाका प्रमुख टेक हितानका अनुसार तत्काल पुलको कामलाई तिब्रताका साथ अगाडि बढाइ बिरामीले पाउने गरेको समस्याको समाधान गर्ने बताउनु भयो ।

ठूलीभेरी नगरपालिकाका नगरप्रमुख सुवर्ण बुढाले जिल्ला अस्पताल जोड्ने पुल बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । जतिसक्दो छिटो पुल निर्माण गराउन नगरपालिकाले गर्नुपर्ने सहयोग सबै गर्ने उहाँको भनाइ छ ।

Photo09092024Dolpa


पुर्ण सार्की