जिल्ला अस्पतालमै छैन सुरक्षित गर्भपतन सेवा, प्राथमिक सेवा केन्द्रमा रिफर

चिचिला गाउँपालिकाकी ४३ वर्षीया एक महिला माघ २१ गते सुरक्षित गर्भपतनका लागि सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पुगिन् ।

तर दक्ष चिकित्सक नभएको भन्दै उनलाई जिल्ला अस्पतालले चैनपुर नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा रिफर गरिदियो ।

ति महिला आफुलाई सन्तानको रहर पुगिसकेको र अनिच्छाले गर्भ बसेको भन्दै सुरक्षित गर्भपतन सेवा लिन सुरूमा गाउँकै स्वास्थ्य चौकी पुगेकी थिइन् ।

स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरूले आफुले गर्भपतन गराउन नमिल्ने भन्दै जिल्ला अस्पताल पठाएका थिए । ‘तर, जिल्ला अस्पतालले पनि चैनपुर वा मकालु गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र जानु भनिदियो’–उनका पतिले भने । उनीहरूका लागि मकालु गाउँपालिका र चैनपुर नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्र टाढा पर्छन् ।

२१ गते नै शिलिचोङ गाउँपालिकाकी ३८ वर्षीया महिला पनि जिल्ला अस्पताल आएकी थिइन् । उनको गर्भ बसेको १७ औँ हप्ता भएको थियो । जिल्ला अस्पतालमा भिडियो एक्सरे गरेर थाहा भयो कि उनको बच्चा विकलाङ्ग जन्मने रहेछ ।

उनलाई जिल्ला अस्पतालका डाक्टरले नै गर्भपतन नगरे आमाको ज्यान समेत खतरामा पर्ने जानकारी दिए । तत्कालै उनले गर्भपतन गराउने निणर्य गरिन् । तर त्यो गर्भपतन सेवा जिल्ला अस्पतालमा नभएछि अस्पतालले चैनपुर प्राथमिक स्वास्थ्य केन्द्र जान भन्दै रिफर ग¥यो ।

‘गाउँबाट जिल्ला अस्पतालमा राम्रो सुविधा छ भने आइयोे ।’–उनका पतिले भने–‘तर त्यहाँबाट अझै दुई दिन समय खर्चिएर चैनपुर जानुपर्ने बाध्यता आइपर्‍यो ।’

खाँदबारीसम्मलाई पुग्ने मात्रै खर्च लिएर हिँडेका उनीहरू अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्दा आर्थिक चपेटामासमेत परे । स्वास्थ्य सेवा दिन आएका उनले भने–‘अब घर पुगेर आउँदा खर्च तेब्बर हुने भयो ।’

यी घटना उदाहरण मात्रै हुन् ,जिल्ला अस्पतालबाट गर्भपतन सेवा नपाएपछि अन्यत्र स्वास्थ्य चौकीमा रिफर भएर जाने धेरै छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय सङ्खुवासभाको सुरक्षित गर्भपतन सेवा शाखा प्रमुख भवानी तिमल्सिनाका अनुसार माघ महिनामा मात्रै जिल्ला अस्पतालले ४७ जना महिला तथा किशोरीहरूलाई गर्भपतन सेवा लिनकै लागि अन्यत्र स्वास्थ्य संस्थामा रिफर गरिसकेको छ ।

अनुभवी एवम् विशेषज्ञ चिकित्सक रहेको आशासहित अस्पताल आए पनि जिल्लाकै ठूलो अस्पतालले सानो र कम अनुवभी स्वास्थ्यकर्मी हुने स्वास्थ्य संस्थामा रेफर गरिदिएपछि थप तनाव भएको रिफर भएर जानेहरूले बताउने गरेका छन् ।

जिल्ला अस्पतालले पनि केही समयदेखि गर्भपतनको सेवा नभएको जानकारी दिएको छ । दक्ष चिकित्सक नभएको भन्दै अस्पतालले दुई महिनायता गर्भपतनका लागि प्राथमिक स्वास्थ्य केन्द्रलगायत स्वास्थ्य संस्थामा रिफर गरिरहेको छ ।

जिल्ला अस्पतालमा तालिमप्राप्त दक्ष चिकित्सक नभएका कारण १२ हप्ताभन्दा माथिको गर्भ भएकाहरूलाई सुरक्षित गर्भपतनका लागि रिफर गर्नुपर्ने बाध्यता रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर लक्ष्मण खड्काले बताए ।

जिल्ला अस्पतालमा सुरक्षित गर्भपतनको सेवा दिँदै आएका डा. युवराज बस्नेतको सरूवा भएपछि दुई महिनादेखि यस्तो अवस्था आएको खड्काको भनाइ छ ।

जिल्ला अस्पतालसहित सङ्खुवासभाका ११ ओटा स्वास्थ्य संस्थामा निःशुल्क सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छ ।

मुलुकी अपराध संहिता ऐनले गर्भपतनलाई महिलाको प्रजनन् अधिकार मानेको छ । यसै ऐनलाई प्रतिस्थापन गर्न बनेको सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५ अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भ पतन गराउन सकिन्छ ।

त्यस्तै जबरजस्ती करणी र हाडनाता करणीबाट गर्भ रहेमा, आमालाई प्राणघातक रोग लागेमा र गर्भकै कारण महिलाको ज्यानमा शारीरिक वा मानसिक स्वास्थ्य खराब हुने खतरा भएमा, बच्चा विकलाङग जन्मने भएमा सूचीकृत संस्थाबाट महिलाको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन पाइन्छ ।


बाबुराम बास्तोला