जिल्ला अस्पतालमै अत्यावश्यक औषधिको अभाव भएपछि बिरामीलाई समस्या

  ०७३ माघ ५ गते

जिल्ला अस्पताल कालिकोटमा जाडो महिनामा अति आवश्यक पर्ने औषधिको अभाव भएपछि बिरामीलाई समस्या भएको छ ।

जाडो महिनाका लागि अत्यावश्यक औषधिहरू सिटामोल, डिकोल्ड, वुस्कोपान, मेट्टो, एसिलक्स, वुस्कोपान इन्जेक्सन, कोटि्रललगायतका औषधिहरूको अभाव रहेको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख मोहम्मद ओजिर आलमले जानकारी दिए ।

जिल्ला अस्पतालमा औषधिको अभाव भएपछि गाउँका स्वास्थ्य चौकीहरूमासमेत समस्या भएको छ । गाँउगाँउबाट उपचारका लागि आउने बिरामीहरू औषधि नपाएपछि नेपालगञ्ज र सुर्खेतसम्म जाने गरेको धौलागोह गाविस-४ की सुना बुढाले बताइन् ।

हिमपातसँगै जाडो बढेका कारण ज्येष्ठ नागरिक तथा बालबालिकाहरूलाई रुघाखोकीले सताउन थालेको स्थानीयहरूले बताएका छन् । निशुल्क पाउने भनी तोकिएका अधिकांश औषधि नभएको र अति आवश्यक औषधिको समेत स्टोरमा अभाव भएको जिल्ला अस्पताल कालिकोटका स्टोर किपर देउरुपा सहकारीले बताइन् ।

सरकारी नीति अनुसार जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३६ प्रकारका औषधि निशुल्क पाउने भएपनि शुल्क तिरेर पनि औषधि पाउन मुस्किल भएको सर्वसाधारण बताउँछन् ।

 


कालीवहादुर मल्ल