जिल्ला अस्पतालमा ह्विलचियरको अभाव : सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा बिरामी बोक्ने ह्विलचियरको अभाव भएको छ । अस्पतालमा ह्विलचियरको अभावपछि बिरामीलाई एक स्थानबाट अर्को स्थानमा लैजानका लागि सास्ती हुनेगरेको हो ।

स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्र अर्थात जिल्लाकै एक मात्रै अस्पतालमा ह्विलचियरको समस्या हुनु भनेको चिन्ता जनक हो । अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राही नरजन तामाङले बताउनुभयो । उहाँले आफ्नो खुट्टा भाँचिएर पलास्टरका लागि मङ्सिर १५ गते जिल्ला अस्पतालमा पुग्दा कार्यालयमा एउटा ह्विलचियरको समेत व्यवस्था नभएको गुनासो गर्नुभयो ।

अस्पतालमा आएका बिरामीलाई एक वार्डबाट अर्को वार्डमा लैजनाका लागि ह्विलचियरको प्रयोग गर्न मिल्छ । तर त्यसको व्यवस्था नहुनुमा जिल्ला अस्पतालको चरम लापरवाही भएको सेवाग्राही तामाङको भनाइ छ ।

जिल्ला अस्पतालमा कम्तीमा पनि ३/४ ओटा ह्विलचियर हुनुको सट्टा एउटा पनि नभएको सेवाग्राहीले गुनासो गरेका छन् । चोटपटक र गम्भीर बिरामी परेमा एउटा सामान्य ह्विलचियरको व्यवस्था समेत नहुनुमा अस्पतालको गैर जिम्मेवारी कार्य भएको अर्का स्थानीय सेवाग्राही ओवराज शाहीले गुनासो गर्नुभयो ।

जिल्लाका सातओटै गाउँपालिकाका स्वास्थ्य शाखामा भरपर्दो उपचार हुन नसक्ने भएपछि स्थानीय सेवाग्राही जिल्ला अस्पतालमा धाउने गर्दछन् । तर यहाँ भने बिरामीलाई राखेर लैजाने स्रोत साधनको समेत अभाव भएको देखिएको स्थानीय शाहीको भनाइ छ ।

अस्पतालमा गत वैशाख सम्म दुईओटा ह्विलचियर  भएको र त्यसपछि विग्रेका कारण त्यसै थन्कीएको अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले बताउनुभयो । अब छिटै नयाँ हुल्चियरको व्यवस्था गर्ने उहाँले प्रतिबद्धता जनाउनु भयो ।


नन्द सिंह