जिल्ला अस्पतालमा रहेको भिडियो एक्सरे आठ महिनासम्म मर्मत नहुँदा सोवाग्राहीहरू मार्कामा

  ०७९ फागुन ३० गते

जिल्ला अस्पताल बिजुवारमा रहेका भिडियो एक्सरे मेसीन बिग्रीएको आठ महिनासम्म पनि मर्मत नहुँदा सेवाग्राहीहरू मार्कामा परेका छन् ।

अस्पतालमा रहेको भिडियो एक्सरे मेसीन लामो समयसम्म सञ्चालन नहुदाँ अस्पताल आएका एक्सरे गर्नु पर्ने बिरामीहरू महंगो शुल्कमा  नीजि मेडिकलमा गएर एक्सरे गर्न बाध्य हुदै आएका छन् ।

पेट दुखेर जिल्ला अस्पताल गएको र डाक्टरले भिडियो एक्सरे गर्न सल्लाह दिए पछि आफूले  १ हजार रूपियाँ शुल्कमा मेडिकलमा एक्सरे गरेको प्यूठान नपा— १० की ४५ वर्षीया सुमित्रा पराजुलीले बताउनु भयो ।

पहिले जिल्ला अस्पतालमा ६ सय रूपियाँमा हुदै आएको भिडियो एक्सरे अस्पतालले मर्मत नगर्दा आफूले महंगोमा मेडिकलमा गएर भिडियो एक्सरे गरेको प्यूठान नपा — की ३७ वर्षीया हिरा खडकाले बताउनु भयो ।

पहिले दैनिक ५० जनाले भिडियो एक्सरे गर्ने गरेको जिल्ला अस्पतालको रेकर्ड रहेको र लामो समय सम्म भिडियो एक्सरे मेसीन बन्द हुँदा बिरामी निजी मेडिकलमा धाउनुपर्ने बाध्यता रहेको छ भने अस्पतालको  मासिक ६ लाख रूपियाँ भन्दा बढी आम्दानी गुमाउनु परेको जिल्ला अस्पतालका प्रमुख खिमप्रसाद पाध्यले बताउनु भयो ।

जिल्ला अस्पतालमा प्यूठानसँगै, अर्घाखाची, गुल्मी, रोल्पालगायत जिल्लाका बिरामी आउने गर्दछन् । बिरामी को चाप अस्पतालमा बढदै गएपनि सेवा बिस्तारमा चासो नपुगेको नागरिक समाजका अगुवा प्यूठान नपा — ४ का सुमन सुवेदीले बताउनु भयो ।

जिल्ला अस्पतालमा भिडियो एक्सरे सेवा छैन भन्ने सुन्दा पनि नागरिकहरू अचम्म मान्छन् तर अस्पताल प्रशासन भने हाइसन्चो मानेर बसिरहेको सुवेदीले बताउनु भयो ।


रविन्द्र पाण्डे