जिल्ला अस्पतालमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढे

  ०८१ साउन १० गते

जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् ।

भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेपछि वेडको अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । ज्वरो र डेङ्गीका बिरामीको चाप ०८१ असारयता बढेको जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीले बताउनु भयो ।

भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेपछि बेड अपुग भएकाले बिरामीलाई प्यासेज र हलमा राख्नु पर्ने बाध्यता भएको सूचना अधिकारी खत्रीले बताउनु भयो । जिल्ला अस्पतालमा साउन महिनामा आएका अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रव टाइफसका सङ्क्रमित भेटिएका छन् ।

जिल्ला अस्पतालमा ०८१ वैशाख महिनायता स्क्रव टाइफसका १ सय ६० जना बिरामी भेटिएका छन् । वैशाखयता डेङ्गीका २७ जना बिरामी भेटिएका छन् । आर्थिक वर्ष ०८०-०८१ मा १ हजार १ सय ४४ जनामा डेङ्गी सङ्क्रण देखिएको थियो । गएको आर्थिक वर्षमा स्क्रव टाइफसका ५ सय २० जना बिरामी भेटिएका थिए ।

भाइरल ज्वरोका कारण जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको सङ्ख्या वृद्धि भएको छ । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रूघाखोकी लाग्ने जस्ता समस्या हुने चिकित्सकको भनाइ छ ।

photo 20240725 sangkhauwasabha (2)

photo 20240725 sangkhauwasabha (1)


भविन कार्की