जिल्ला अस्पतालमा पाँच महिनादेखि स्त्रीरोग विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती !

  ०८१ फागुन २९ गते

जिल्ला अस्पताल बिजुवारमा पाँच महिनादेखि स्त्रीरोग (महिला) विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको छ ।

जिल्ला अस्पताल बिजुवारमा उपचार गर्न आउने विरामीहरू अस्पतालमा स्त्रीरोगको विशेषज्ञ दरबन्दी भए पनि अहिले डाक्टर नहुँदा निजी मेडिकलमा जान बाध्य भएको प्यूठान नगपालिका—३ की ५२ वर्षीया मिना पौडेलले बताउनु भयो । आफ्नो पाठेघरको समस्या भएर उपचारको लागि जिल्ला अस्पताल आउँदा महिला रोग हेर्ने विशेषज्ञ डाक्टर नभएकोले निजी मेडिकलमा महङ्गो शुल्क तिरी उपचार गराएको पौडेलले बताउनु भयो । यसैगरी ऐरवाती गाउँपालिका—३ की ३४ वर्षीया जमुना आलेमगर आफूलाई तल्लो पेटसम्बन्धी समस्या भयर उपचारको लागि जिल्ला अस्पताल आएकोमा अस्पतालमा विशेषज्ञ नहुँदा आफूले मेडिकलमा गइ उपचार गर्दा धेरै रकम खर्च भएको गुनासो गर्नुभयो ।

अहिले अस्पतालमा सात जना विशेषज्ञ डाक्टरहरूको दरबन्दी रहेकोमा महिला रोग, नाक, कान, घाँटी, छाला र बाल रोग विशेषज्ञ केही महिना यता नभएको र ल्याउनको लागि पहल गरिएको हुनाले छिटै आउने जिल्ला अस्पताल प्यूठानका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर ओम अर्यालले बताउनु भयो । जनरलमा सबै प्रकारका बिरामीहरूलाई मेडिकल अफिसर (एमविविएस) डाक्टरले हेर्दै आएको उहाँले बतारउनु भयो । अस्पतालमा विशेषज्ञ डाक्टरहरू नहुँदा समस्या भएको मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अर्यालले बताउनु भयो ।

महिला रोग, बाल रोग लगाएतका विशेषज्ञ डाक्टर पाँच महिनाअघि कार्यरत रहनुभएको र उहाँ अध्यनन गर्न गएको कारण खाली रहेकोले डाक्टर व्यवस्था गरी छिटोभन्दा छिटो पठाउन माग गरी सम्बन्धित निकायमा पठाएको जिल्ला अस्पताल विकास समितले जनाएको छ । नेपालको संविधानको २०७२ को धारा ३५ को १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवाको पहुँच उल्लेख भएता पनि प्यूठान अस्पतालमा दरवन्दी अनुसारका विशेषज्ञ डाक्टर नहुँदा बिरामीहरूलाई सास्ती भएको छ ।


रविन्द्र पाण्डे