जिल्ला अस्पतालमा दुई हप्तादेखि औषधि अभाव

जिल्ला अस्पताल रूकुममा दुई हप्तादेखि सामान्य सिटामोलसमेत पाइन छाडेको बिरामीहरूले गुनासो गरेका छन् । मुसिकोट नगरपालिका-१२ की पारसी ओली भन्छिन्-'टाउको दुखेर उपचारका लागि अस्पताल आएँ । सिटामोलसमेत पाउन सकिएन । अब कहाँ जाउँ ?'

पारसीले थपिन्-'हामीले बेड बाहेक कुनै पनि सेवा निशुल्क पाएका छैनौँ ।' सरकारले निशुल्क रूपमा उपलब्ध गराउने सामान्य प्रकारका औषधि अस्पतालमा नपाइँदा बिरामीहरू मर्कामा परेका हुन ।

'दुई हप्ता भइसक्यो सिटामोल समेत छैन ।'-अस्पतालको फार्मेसीमा कार्यरत कर्मचारी मोहन न्यौपानेले भने । जिल्ला अस्पतालमा औषधिको चरम अभावका कारण बिरामीहरू निजी अस्पताल र मेडिकलमा पुगेर उपचार गर्न बाध्य भएका छन् । अस्पतालमा अनिवार्य हुनुपर्ने सिटामोल, एमोक्सिलिन र सिरप जस्ता औषधिहरूकोसमेत अभाव छ ।

यस विषयमा जिल्ला अस्पताल सल्ले रूकुमका प्रमुख डा. राजेन्द्र जिसीले कुनै प्रतिक्रिया दिन मानेनन् । औषधि अभाव छ भनी इन्सेक प्रतिनिधिले सोध्दा उनले 'मलाई समय छैन अहिले यो विषयमा कुरा गर्दिनँ' पन्छिए ।

लामो समयसम्म पनि सामान्य औषधिको अभाव हुँदा जिल्ला स्तरबाट पहल नभएको बिरामीका आफन्तहरूले गुनासो गरेका छन् । टेण्डर प्रकृयाबाट औषधि आपूर्तिको जिम्मा ठेकदारलाई दिइएको भएपनि विभागले नै औषधि पठाउन ढिला गरेको अस्पातलका कर्मचारी नन्दलाल महतोले जानकारी दिए । निशुल्क रूपमा पाइने औषधिसमेत मेडिकलमा किनेर उपचार गर्नु पर्दा बिरामीका आफन्तहरू थप आर्थिक मारमा परेका छन् ।

अरू औषधि जम्मै किनेर ल्याउनु पर्छ । ५० सैयाको जिल्ला अस्पतालमा दैनिक ५०/६० जना बिरामीहरू चेकजाँचका लागि आउने गर्छन । सबैले अस्पतालमा गुणस्तरीय सेवा र औषधि नपाएपछि अन्यत्र नै उपचारका लागि जान बाध्य छन् ।


आदर्श केसी